अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 13:06

दुर्गन्धनले सास्तीः कलकल कहिले बग्छ विष्णुमती ?

सुरेश तामाङ, काठमाडौँ २०७४ चैत २७ गते २२:०२ मा प्रकाशित

यदि तपाईँ विष्णुमती खोला किनार पुग्नुभयो भने मुख नछोप्ने मान्छे भेट्नुहुन्न । दुर्गन्धले खोलातिर फर्कँदै थुक्ने र मुख छोप्ने मान्छेको भिड देख्न सक्नुहुन्छ। खोलाभित्र यत्रतत्र फालिएका सिसी, टायर, प्लास्टिकलगायत फोहोरका कारण सर्वसाधारण यात्रु हिँडडुल गर्नसमेत कठिन हुने गरेको छ।

विष्णुमती खोलामा कालो लेदो मिसिएको पानी मुस्किलले बगेको देख्न सकिन्छ। खोला किनार बस्ने बासिन्दाले खोलाको दुर्गन्धको सास्ती खेप्दै आइरहेको वर्षौँ बितिसकेको छ। खोला किनारा हुँदै दैनिक रूपमा आवतजावत गर्ने यात्रुहरू सहज रूपमा आवतजावत गर्नसमेत कठिन छ। खोलाको दुर्गन्धले बिहानबेलुकाको खाना खाने समय गाह्रो पार्ने स्थानीयको भोगाइ छ। विष्णुमती किनाराका बसोबास गर्दै आएका स्थानीय पदम महर्जनले खोला र खोला छेउछाउको दुर्गन्धले खाना खान र बस्न नै समस्या परेको बताउँछन्।

खोलाको दुर्गन्धले बालबालिका तथा वृद्धवृद्धामा स्वासप्रस्वाससम्बन्धी समस्या देखिएको उनले बताए। ‘खोलाको गन्धले यहाँका बालबच्चा र बूढाबूढीमा श्वासको समस्या देखिएको छ। यो खोलाको गन्धले नै भएको हो,’ –उनले भने।

यस खोलाको संरक्षण र ढल व्यवस्थापन गरेर दुर्गन्धरहित पार्दै खोलामा कलकल पानी बग्ने बनाउन भनेर अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले ३ वर्षदेखि काम गरे पनि खोलामा ढलको अझै व्यवस्थापन हुन सकेको छैन। यस खोला आसपासका बस्तीबाट खोलामा सिधैं ढल मिसाउने क्रम अझै रोकिएको छैन। जसका कारण झन् दुर्गन्ध फैलिएको छ। 

खोला र ढलको व्यवस्थापन गर्ने काम अव्यवस्थित बन्दा नागरिकले अनाहकमा सास्ती खेपी रहेका छन्। खोलाको ढलको गन्ध त छँदै छ। सडक किनार मै थुपारिएको फोहोरको डंगुर, निर्माण सामग्री यत्रतत्र थुपारिँदा, ढल फुटेर सडकमै यत्रतत्र फैलिएको पानीले गर्दा सर्वसाधारणलाई झन् सास्ती मात्रै होइन जोखिम पनि बढाएको छ।
खोलाको किनारैकिनार टेकु पुलदेखि शोभा भगवती मन्दिर जाने बाटोको अवस्था यस्तै छ। बाटोको अवस्थाका बारेमा बयान गरी साध्य छैन। ३ वर्षदेखि खोला किनारको मोटर बाटोको अवस्था पनि दयनीय छ। यस मोटर बाटोको सुधार त परको कुरा जस्तै भइरहेको छ।

समितिले बाग्मती दोभानदेखि महादेवखोला दोभानसम्म ६ किमीको भाग विष्णुमती खोलालाई संरक्षण र ढलमुक्त पार्न काम गरिरहेको जनाएको छ। ६ किमीअन्तर्गत तल्लो र माथिल्लो भाग गरी ३⁄३ किमीको भागमा समितिले खालाको संरक्षण र ढल व्यवस्थापनको ठेक्का लगाइएको थियो। हाल तल्लो भागमा लुम्बिनी, गौरी पार्वती, कोन्टे«क जेभी र माथिल्लो भागमा शर्मा, एपेक्स, कान्छाराम जेभीले काम गरिरहेको छ।

आव २०७४⁄०७५ भित्र सम्पन्न गर्ने लक्ष्य लिएर आव २०७१⁄०७२ को ९ महिनापछि मात्रै खोलामा समितिले काम थालेको हो। लक्ष्य सकिनै लाग्दा पनि यस खोलामा लक्ष्यअनुसारको काम हुन सकेको छैन। हालसम्म जम्मा ६५ प्रतिशत काम खोलाको समग्रमा काम सम्पन्न भएको समितिले जनाएको छ।

खोला किनारको सडकमा कतै हिलाम्मे छ भने कतै धुलाम्मे। कतै ढल फुटेर सडकमै पानी वालछ्याल भएको छ। कालोपत्रे पुरै उक्किसकेको अवस्था छ। खाल्डाखुल्डीको त कुरै छोडौँ। यस सडक दुराअवस्थालाई हेर्दा महानगरको सडक होइन कि कुनै दुर्गम सडकको याद आउन सक्छ, जो कोहीलाई पनि।

१ अर्ब लागतको अनुमान गरिएको यस खोलाको संरक्षण र ढल व्यवस्थापनका लागि हालसम्म ५७ करोड खर्च गरिसकेको छ। खोलाको २ तिर ढल हाल्ने, पर्खाल लगाउने, घाट र पुरातात्विक वस्तुको संरक्षण गर्ने समितिले जनाएको छ। ‘सडकको २ तिर ढल हाल्ने, ढललाई सुरक्षा गर्न पर्खाल लगाउने, घाट बनाउने र पुरातात्विक बस्तुको संरक्षण गर्नु हाम्रो काम हो। हामी त्यो निर्धारित समयभित्रै पुरा गर्छौँ।’ –उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले भन्नुभयो।  नेपाल समाचार पत्रबाट साभार 

प्रतिक्रिया