अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

असोज पहिलो सातादेखि राजधानीमा मेलाम्चीको दैनिक १७ करोड लिटर पानी

बिआरटीनेपाल २०७४ चैत २७ गते १९:४६ मा प्रकाशित

काठमाडौँ, बहुप्रतीक्षित मेलाम्ची खानेपानी दसैँ अघि नै राजधानीमा वितरण हुने भएको छ। मेलम्ची आयोजनाको मङ्गलवार सिन्धु–ग्याल्थुम खण्डको साढे सात किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ भएपछि असोजमै दैनिक १७ करोड लिटर खानेपानी राजधानी आउने भएको हो।

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको तेस्रो एवं अन्तिम सुरुङको ‘ब्रेक थ्रु’ भएको जानकारी दिइन् । उनले भनिन्, ‘मेलम्ची खानेपानीका लागि २६ किलोमिटर लामो सुरुङ खन्ने काम आज सकिएको छ, अब सुरुङको फाइनल फिनिसिङ गर्ने, हेडबक्र्स र अन्य केही काम बाँकी छन् तिनलाई लगभग चार महिनामा सक्ने लक्ष्य छ ।

अब राजधानीबासीले ढिलोमा दसैँअघि नै मेलम्चीको पानी पिउन पाउनेछन्।’ फागुन ६ गते मन्त्रालय सम्हालेपछि मन्त्री मगरले स्थलगत निरीक्षण गरी रोकिएको काम अघि बढाउन सम्बन्धित व्यवसायी सिएमसी र आयोजना प्रमुखलाई निर्देशन दिएकी थिइन्। उनले २५ दिनभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्न निर्देशन दिए पनि चार दिनअगावै ब्रेक थ्रु भएको हो। मेलम्चीको कूल लागत २७ अर्ब ७६ करोडमध्ये हालसम्म २४ अर्ब २२ करोड खर्च भइसकेको छ। बजेटको करिब ८० प्रतिशत एसियाली विकास बैङ्क र बाँकी सरकारले व्यहोर्नेछ।

यसअघि सन् २०१६ मा सुन्दरीजल–सिन्धु खण्डको ९.४ किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो भने सन् २०१७ को डिसेम्बरमा ग्याल्थुम–अम्बथान खण्डको ८.२ किलोमिटर ‘ब्रेक थ्रु’ भएको थियो। यो तेस्रो ब्रेक थ्रुले मेलम्ची सुन्दरीजलको २६ किलोमिटर सुरुङको सम्पूर्ण काम सकिएको छ। ‘निर्धारित समयमै काम सकिए असोजको पहिलो साता र प्राविधिक समस्या भए असोजको अन्तिम साता अर्थात् दसैँअघि मेलम्चीको पानी राजधानीमा वितरण हुनेछ’, मेलम्ची खानेपानी विकास समितिका कार्यकारीनिर्देशक रामचन्द्र देवकोटाले भने। ‘ब्रेक थ्रु’ बारेको जानकारी दिन मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘दोस्रो चरणका याङ्ग्री र लार्के नदीबाट पनि दैनिक १७÷१७ करोड लिटर थप गर्ने गरी काम गर्न डिजाइन परामर्शदाता छनोट भई असारसम्ममा विस्तृत डिजाइन प्रतिवेदन प्राप्त हुँदैछ।’ दुवैका लागि ११ किलोमिटर सुरुङ खन्नुपर्ने उनको भनाइ छ।

विभिन्न दातृ निकायसँगको सहकार्यमा मेलम्ची आयोजना निर्माणका लागि लगानी जुटाउने गरी २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति स्थापना गरेर काम अघि बढाइएको थियो। काम सुरु गरेको २० वर्षपछि मेलम्चीको पानी राजधानी आउने भएको हो। झन्डै तीन वर्ष काम अवरोध गरेपछि सन् २०१२ मा निर्माण व्यवसायी सिआसीसीसँग सम्झौता तोडिएको थियो। सरकारी अनुगमनको अभाव, ठेकेदारको लापर्वाही, निर्माण सामग्रीको अभाव र भूकम्पजस्ता कारणले आयोजनाको काम लम्बिएको हो। आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले सुरुङमार्फत् सुन्दरीजलमा पानी आएको बढीमा १५ दिनमा पाइपमार्फत् घरघरमा पानी पुग्ने बताए।

‘असोजदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर राजधानीमा आउनेछ भने प्रत्येक घरमा दैनिक ४ घण्टा खानेपानी वितरण हुनेछ’, उनले भने। उनका अनुसार, काठमाडौँ उपत्यकाका विभिन्न १० ठाउँमा रिजर्भवेयर हुने र सोमध्ये आठवटा निर्माण भइसकेका छन् भने ६ वटा पुराना प्रयोग हुनेछन्। उनले भने, ‘एक हजार किलोमिटर पाइप बिछ्याउनु पर्नेमा एक सय किलोमिटरमात्र बिछ्याउन बाँकी छ भने बिछ्याइएकोमा ७० प्रतिशतमा पानी पठाएर परीक्षण पनि गरेका छौँ भन्ने समाचार अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू