अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

म विश्वास बोकेर हिँडेको मान्छे

ज्योतिकुमार श्रेष्ठ, न्यु योर्क २०७४ चैत २७ गते १९:३३ मा प्रकाशित

कविता

एक्लै थिए जब म
अत्यासलाग्दो दिनहरूमा
भत्भति पोल्दो रातहरूमा
निस्सासिदै एकान्तमा रुँदै थिए

कसैले मलाई सुनिदियोस् भनेर
जब म चिच्याउदै थिए,
सहरको भीडले पनि
स्पर्श गर्न नसकेको मेरो मन

कहालीलाग्दो मेरो क्षण
त्यस बेला न तिमीले सुनि दियौ
न सुन्ने चेष्टा गर्‍यौ
भर्भराउदो मेरा वसन्तहरू

पक्षाघात भएर थलिए
उमड्०गहरु मनका फुड्०ग थिए
खिल्खिलाउदै गरेका मेरा खुसीहरू
त्यसै-त्यसै खिन्न थिए

तिमीले अनुभूत गर्न नसकेको मेरा ती पलहरू
हो, म एक्लै थिए, एक्लै
सहरको भिडमा पनि एक्लै
तर पनि म बांडिईन

म भांडिईन
म छरिन
मैले आँसु पोखेर कसैलाई देखाइन
व्यथा छताछुल्ल पारेर

मैले जग हँसाइन
के तिमी महसुस गर्न सक्छौ मेरा भोगाइहरू ?
के तिमी मलाई फर्काउन सक्छौ
मेरा ती यौवनभरिका वसन्तहरू ?

फर्काउन सक्छौ
मैले घाँटी निमोठेर मिल्काएका
ती तन्नेरी जोसहरू ?
निस्तो रातमा सुकसुकाएका भोकहरू ?

म बुझ्छु- नि:शब्द अनि अनुत्तरित छन् मेरा प्रश्नहरू
घाम ढल्दै छ पश्चिम क्षितिजमा
म पूर्व क्षितिजमा बिहानीको सूर्योदय पर्खिरहेछु
फेरी एक अर्को न्यानो आशामा

मनको कुनै कुनामा
थोरै उत्साह बोकेर
जीवन यात्रामा फेरी एउटा विश्वास बोकेर
म हिडीरहेकोछु

बाँचिरहेकोछु
नथाकी
नहारी
अविरल, अविचलित

हो, पूर्व क्षितिजमा फेरि सूर्य उदाउनेछ
अवश्य उदाउनेछ
आखिर यही त हो जीवन
यस्तै त हो नि जीवन ।

प्रतिक्रिया