अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

बृहत् महाभारत पदमार्गको प्रारम्भिक अध्ययन पूरा (फोटो फिचर)

लीलानाथ घिमिरे, काठमाडौँ २०७४ चैत २७ गते १०:५२ मा प्रकाशित

समृद्ध सिन्धुली अभियानले काभ्रेको नमोबुद्धबाट महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गर्न गएको टोली मङ्गलवार ऐतिहासिक सिन्धुलीगढी पुगेको छ । अध्ययनका लागि बुधवार अभियानको टोली काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको थियो । अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङ्कन कर्ता लगायतका विज्ञहरू सहभागी छन् । टोली नमोबुद्धबाट सिन्धुलीगढीहुँदै फिक्कलसम्म अध्ययन गर्न हिँडेको थियो । सिन्धुलीगढी नपुग्दै दिनहुँ पानी पर्न थालेकाले यात्रालाई सिन्धुलीगढी खण्ड पार गरेर केही दिनका लागि स्थगित गरिएको अभियन्ता सौरभ ढकालले बताए ।

ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गर्न टोलीले महाभारत डाँडैडाँडा पदयात्रा गरेको थियो । यात्राको पाँचौँ दिनदेखि लगातार पानी परिरहेकाले केही दिनका लागि पदयात्रा स्थगित गरेका छौँ, ढकालले भने, मौसममा सुधार हुनासाथ यात्रालाई निरन्तरता दिनेछौँ । महाभारत डाँडामा पानी पर्नासाथ जुका लाग्छ । पदमार्गमा पानी पर्दा चिप्लिने जोखिम त्यतिकै हुन्छ ।
समृद्ध सिन्धुली अभियानको टोली पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँ पदमार्गको खोजी गर्न हिँडेको अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए । पदयात्रा बारे जानकारी दिन सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा घिमिरेले बाटोमा पर्ने गाउँहरूमा होमस्टे सञ्चालन, पदमार्गको सुधार र पदमार्गमा पर्ने स्थानीय तहसँग समन्वय गरेर त्यस क्षेत्रका बासिन्दालाई सहभागी गराउन सके राजधानी र तराइबाट नजिकै रहेको यस मार्गमा पदयात्रा गराउन सकिने सम्भावना देखिएको उनले बताए । राजधानीबाट नजिकै रहेको महाभारत पदमार्ग आवश्यकताअनुसार लामो र छोटो दुरीमा गर्न सकिने देखिएको अभियन्ता ढकालले बताए । यस मार्गलाई खगोल, जीवजन्तु, चराचुरुङ्गी र बनस्पत्ति अध्ययनका साथै स्थानीय उत्पादनलाई ब्यवसायीकरण गर्नसमेत उपयोग गर्न सकिने देखिएको छ,’ उनले भने । आगामी फागुन समृद्ध सिन्धुली अभियानले पदयात्रीलाई काठमाडौँबाट नमोबुद्ध हुँदै सिन्धुलीगढीसम्म लैजाने ढकालले जानकारी दिए । अध्ययन टोलीले ७ दिनमा नमोबुद्धदेखि काभ्रेको दाप्चा, डराउने पोखरी, काक्रे सिपाली, रोशी, वाल्टिङ, सिन्धुलीको सुनकोशी, घ्याङलेख, सिन्धुलीगढीहुँदै , रतनचुरासम्मको यात्रा गरेको थियो ।
यात्राका क्रममा पुगिने ठाउँका स्थानीय जातजाती, संस्कृति, रहनसहन, वातावरण, वनस्पति, सार्वजनिक स्थलहरू, झरना, गुफालगायतका हेर्नलायक स्थलहरू, होमस्टेको सम्भावनालगायतका कुराहरूको अध्ययन गरिएकको अर्का अभियन्ता दीपक श्रेष्ठले बताए । ‘अध्ययनका क्रममा पुगेका स्थलहरूको डिजिटल/एनालग नक्सा, फोटो/भिडियो, स्थानीय स्तरमा प्राप्त कथाहरू सङ्कलन गरेका छौँ,’ उनले भने ।  यात्रामा समृद्ध सिन्धुली अभियानका अभियन्ताहरु लीलानाथ घिमिरे, सौरभ ढकाल, दीपक श्रेष्ठ, फोटो ग्राफर गणेश भण्डारी र भिडियोग्राफर सान महर्जन सहभागी थिए । महाभारत ट्रेट अध्ययनका लागि राष्ट्रिय प्रकृति कोषसँग अभियानले सहकार्य गरेको छ । अध्यनमा स्टोरी साइकल, आवर ड्रिम सिटीलगायतका संस्थाले सघाएका छन् । यात्रीलाई शिखर सुज, शिवाकोटी ब्यागलगायतले सहयोग गरेका छन् ।