अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१८ | Colorodo: 06:33

प्रधानमन्त्रीको भारत भ्रमण फलदायीः नेता डा. रामशरण महत

बिआरटीनेपाल २०७४ चैत २६ गते ११:१६ मा प्रकाशित

काठमाडौँ, नेपाली काँग्रेसका नेता डा रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमण फलदायी र उपलब्धिमूलक भएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले नेपालका कुनै पनि प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म असफल नभएको बताउँदै प्रधानमन्त्री ओलीको भ्रमण पनि सद्भावपूर्ण भ्रमण भएको र दुई देशबिचको सम्बन्ध सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण पनि अहिलेसम्म असफल नभएको उल्लेख गर्दै नेता महतले नेपालको संविधान जारी गर्दा नेपाल–भारतबिच रहेको असमझदारीलाई स्वयम् भारतले पनि महसुस गरेकाले अब भारत नयाँ दृष्टिकोणबाट नेपालसँग सम्बन्ध सुधार गर्न इच्छुक रहेको छ भन्नुभयो । 

उहाँले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा वरिष्ठ मन्त्रीले स्वागत गर्नु, पन्तनगरमा विद्यावारिधिको उपाधि दिनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान–टु–वान’ भेटवार्ता हुनु नै राम्रो कुरा भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “रेल आउने कुरा राम्रो हो, तर भाषण गरेरमात्रै हुँदैन, यसका लागि लगानी कति लाग्छ, रेल ल्याउँदा अनुदान हो कि ऋणमा त्यसको टुङ्गो लगाउनुपर्छ, रेल ल्याउनेबारे विस्तृत अध्ययन बाँकी नै छ ।”

जलमार्ग बनाउने कुरा पनि आजभन्दा करिब ४० वर्षदेखि छलफल भइरहेको बताउँदै नेता महतले त्यसको कार्यान्वयमा सहजता नरहेको बताउनुभयो । उहाँले हवाई रुट र वाणिज्यसम्बन्धी सन्धि भएको भए नेपालको अर्थ व्यवस्थामा ठोस उपलब्धि हुन सकिन्थ्यो भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू