अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

६ महिनासम्म पुग्ने गरी खाद्य सामाग्री व्यवस्था गर्न कालीकोटका सांसदको माग

देवीराम देवकोटा, काठमाडौँ २०७४ चैत २६ गते १०:२९ मा प्रकाशित

कालिकोटका सांसद्हरुले ६ महिनासम्म पुग्ने गरी जिल्लामा खाद्य सामाग्री व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद दुर्गबहादुर रावत र राष्ट्रिय सभाका सांसद जीवन बुढाले कालिकोटमा असिना पानी र हावाहुरीले हिउँदे बाली सखाप पारेको भन्दै खाद्य सामाग्री व्यवस्था गर्न माग गरेका हुन् ।

गृहमन्त्री रामबहादुर थापा बादल, आपूर्ति मन्त्री मातृकाप्रसाद यादव सहितका मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउँदै कालिकोटमा असिना पानीले हिउँदे अन्नबालीका साथै किसानका भेडा,बाख्रा र कुखुरा पालनमा ठुलो क्षति पुगेकोले खाद्यान्नको जोहो गरिदिन दुवै सांसदले माग गरेका हुन् । राष्ट्रिय सभाका सदस्य जीवन बुढाले भूकम्पले क्षति पुर्‍याएजस्तै कालिकोटमा असिनापानीले अन्नबाली सखाप पारेको बताए । उनले गोरखा भूकम्पका बेला चाउ चाउ बाँडेजस्तो नभएर ६ महिना पुग्ने खाद्यान्नको व्यवस्था गर्न माग गरे ।

गृहमन्त्री थापालाई ज्ञापनपत्र दिँदै सांसद बुढाले भने , “ कालीकोटमा असीनाबालीले सखाप पार्‍यो यसको तुरुन्त व्यवस्था गर्न हाम्रो सामूहिक माग हो । कालीकोटबासी आम जनता , जनप्रतिनिधिको सामूहिक आग्रह हो , विशेष ध्यान दिनुपर्यो ।”

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापा बादलले आफूले यसका लागि पहल गर्ने बचन दिए । उनले भने, “ आफू विपद व्यवस्थापनको उचित प्रबन्ध गर्न लागिरहेको छु । कालीकोटमा पहिले खाद्य सामाग्री पुर्‍याउन पहल गर्छ । अन्य कुराहरू मिलाउँदै जाउँला । ”कालिकोटमा यही चैत २३ गतेको हावाहुरी र असीनापानीले झन्डै १ लाख ६० हजार हेक्टरमा लगाइएको अन्नबाली नष्ट भएको अनुमान छ ।

यसैबिच कालीकोटमा सांसदहरूले कालीकोटमा गएको पौष ७ गते प्रहरीको गोली लागी मृत्यु भएको म्यादि प्रहरी विवेक ऐडिका परिवारलाई राहत दिन पनि माग गरेका छन् । उनीहरूले अहिलेसम्म विवेकऐडिलाई राहत नदिएकोमा गृहमन्त्री थापासँग गुनासो समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू