अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 13:25

राष्ट्रिय पुनर्निमाण प्राधिकरणको संगठन समायोजन सुरु

बिआरटीनेपाल २०७४ चैत २५ गते ९:२६ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालै पारित नयाँ सङ्गठनात्मक संरचनाअनुसारको समायोजन प्रक्रिया सुरु गरेको छ । प्रधानमन्त्री एवम् प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा चैत्र २० गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले विभिन्न मन्त्रालयअन्तर्गत रहेका आयोजना कार्यान्वयन इकाईहरुलाई प्राधिकरणको प्रत्यक्ष मातहत ल्याउने निर्णय गरेको थियो ।आइतबार प्राधिकरणका निमित्त सचिव राजुमान मानन्धरको अध्यक्षतामा बसेको बैठकमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन इकाईहरुको कार्यालय समायोजन तथा दरबन्दी मिलानसम्बन्धमा बृहत् छलफल भयो ।

३१ वटा भूकम्प प्रभावित जिल्लामा रहने इकाईले भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान वितरण तथा स्थानीय पूर्वाधार पुनर्निर्माणसम्बन्धी कार्यहरू गर्दछ । त्यस्तै, अर्को छुट्टै बैठकमा शिक्षाको केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन इकाइको कर्मचारी समायोजन, दरबन्दी मिलान सम्बन्धमा छलफल भएको छ । शिक्षाको एउटा केन्द्रीय र २० वटा जिल्ला आयोजना कार्यान्वयन इकाइ रहने छन् जसले विद्यालय भवनहरूको पुनर्निर्माणको काम गर्दछन् ।

नयाँ सङ्गठनात्मक संरचना २०७४ चैत्र २९ बाट क्रियाशील हुनेछ । प्राधिकरणले त्यसअघि सबै कार्यालय समायोजन तथा दरबन्दी मिलानको कार्य सम्पन्न गर्ने प्राधिकरणका प्रवक्ता यमलाल भूसालले जानकारी दिए । पुरानो संरचनाबाट सञ्चालन भइरहेको आर्थिक कारोबारलाई नयाँ संरचना अनुसार समायोजन गर्न प्राधिकरणका जनशक्ति व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद दवाडीको अध्यक्षतामा अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालका प्रतिनिधि एवम् प्राधिकरणका आर्थिक प्रशासन शाखा प्रमुख कमान सिंह खत्री सदस्य रहेको कार्यदल गठन भएको छ । 

त्यस्तै, पुनर्निर्माण सम्बन्धी ऐन, नियमावली, निर्देशिका र कार्यविधिलाई परिमार्जन गरी नयाँ संरचना अनुकूल बनाउनका लागि सुझाव पेस गर्न जनशक्ति महाशाखाका प्रमुख दवाडीकै अध्यक्षतामा प्राधिकरणका पाँचवटै महाशाखाका उपसचिव सदस्य एवम् कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव सदस्य–सचिव रहने गरी अर्को कार्यदल पनि गठन गरिएको छ । यी कार्यदलहरूले विषयवस्तुको विस्तृत अध्ययन पश्चात् यथाशीघ्र प्रतिवेदन बुझाउने गरी कार्य सुरु गरिसकेको प्रवक्ता भूसालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू