अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

वैश्य समुदायलाई अवसरबाट वञ्चित गरिराखेको आरोप

बिआरटीनेपाल २०७४ चैत २४ गते १४:०३ मा प्रकाशित

जनकपुरधाम, वैश्य समुदायलाई राज्यले चन्दादाताका रूपमा मात्र स्थान दिई अधिकार र अवसरबाट वञ्चित गरिराखेको आरोप लगाइएको छ । नेपाल वैश्य युवा सङ्घ केन्द्रीय कार्य समितिद्वारा आज यहाँ आयोजित प्रतिनिधिसभा र प्रदेशसभामा वैश्य समुदायबाट निर्वाचित सदस्यको अभिनन्दन समारोहमा जनप्रतिनिधिले सो आरोप लगाएका हुन् ।

नेपालमा ३० लाख भन्दा अधिक जनसङ्ख्या वैश्य समुदाय भए पनि राज्यले अन्य समुदायलाई लक्षित गरी दिएको पहिचानसरह वैश्यलाई पहिचानबाट वञ्चित राख्नु दुःखद् भएको उहाँहरूले धारणा राख्नुभयो । वैश्य समुदायलाई चन्दादाताका रूपमा लिने गरेका वैश्यको अपहरण, हत्या, अपमान भइरहेकोतर्फ उहाँहरूले ध्यानाकर्षण गराउनुभयो । प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले शासनमा साझेदारी सन्दर्भमा हालसम्म पनि विभेदजन्य संरचना रहेको छ भन्नुभयो ।

समाज र राष्ट्रको विकासमा वैश्य समुदायको योगदान रहे पनि सत्ताधारीहरूको गलत मनोविज्ञानको सिकार वैश्यहरू भएका छन् भन्दै उहाँले विभेदजन्य मानसिकताको अन्त्य गर्न ऐक्यबद्ध हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साह र प्रदेशसभा सदस्य परमेश्वर साहले वैश्य समुदायसँग भइरहेको उपेक्षा, असुरक्षाप्रति राष्ट्र गम्भीर हुनुपर्ने खाँचो औँल्याउनुभयो । सङ्घका अध्यक्ष दिलीपकुमार साहले वैश्य समुदायलाई सङ्कीर्ण परिधिमा राख्ने मानसिकतामा परिवर्तनको आवश्यकता छ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू