अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

मलेसियामा संसद् विघटन

बिआरटीनेपाल २०७४ चैत २४ गते १०:१३ मा प्रकाशित

मलेसियाली प्रधानमन्त्री नाजिब रजकले संसद्को तल्लो सदन विघटन गरेका छन् । अर्काे संसदीय निर्वाचनका लागि उनले संसद् विघटन गरेका हुन् । मन्त्रिपरिषद्को एक विशेष बैठकपछि प्रधानमन्त्री रजकले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले शनिबार संसद् विघटन गरेका हुन् । संसद् विघटनअघि प्रधानमन्त्रीले राजा सुल्तान मोहम्मद भीको अनुमति लिएका थिए । संसद् विघटन गरेको मितिले ६० दिनभित्र अर्काे संसद्का लागि निर्वाचन गर्नुपर्ने व्यवस्था छ । नयाँ निर्वाचनको मिति भने तोकिएको छैन । नयाँ निर्वाचनमा मलेसियाली नागरिकहरूले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका दुई सय २२ सदस्य छनोट गर्नेछन् ।

रजकले अर्को कार्यकालका लागि पनि प्रधानमन्त्रीको उम्मेदवार हुने अपेक्षा गरेको मलेसियाली सञ्चारमाध्यमहरूले जनाएका छन् । संसद् विघटनपछि मलेसियाको निर्वाचन अयोगले नयाँ निर्वाचन मिति तोक्नेछ । संसद्को विघटनपछि बढीमा दुई महिनाभित्रमा निर्वाचन गराइसक्नुपर्ने प्रावधान मलेसियाको संविधानमा उल्लेख छ ।

मलेसिया स्वतन्त्र भएपछिका प्रायः सबै निर्वाचनहरूमा नै मलेसियाली राजनीतिक दल युनाइटेड मलायाज नेसनल अर्गनाइजेसनले नै संसदीय निर्वाचनमा जित–हात पार्दै आएको छ । सो दलले अर्काे एक सानो सत्ता गठबन्धन दल बरिसन नेसनलसँगको सहकार्यमा प्रायः हरेक संसदीय निर्वाचन जितेर शासन गर्दै आएको छ । युएमएनओको वर्तमान अध्यक्ष पनि प्रधानमन्त्री रजक नै हुन् । अहिले पनि यहाँका विश्लेषकहरूले सोही दलले नै सुविधाजनक बहुमत ल्याउने अनुमान गरेको विश्लेषण गरिरहेका छन् ।

प्रधानमन्त्री रजक आफ्नै दलका संस्थापक  नेता तथा आधुनिक मलेसियाका विकासका अगुवा महाथिर मोहम्मदका कारण समस्यामा छन्, जसका कारण उनको पार्टीलाई धक्का लाग्ने सम्भावना छ । पार्टीभित्रको विवादपछि सन् २०१६ मा सो युएमएनओका संस्थापक नेता महाथिरले दल छोडेर विपक्षीसँग गठबन्धन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू