अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

शनिवारदेखि विरगंजमा रहेको एकीकृत जाँच चौकी सञ्चालनमा

बिआरटीनेपाल २०७४ चैत २४ गते ९:१६ मा प्रकाशित

वीरगञ्ज। भारतको नयाँदिल्लीस्थित हैदरावाद भवनबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिची उद्घाटन गर्नुभएपछि पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी शनिवार देखि विधिवत् रूपमा सञ्चालनमा आएको छ ।

उद्घाटनपश्चात् भारतबाट पेट्रोलियम पदार्थ बोकेको ना ६ ख ६९३९ नंको पेट्रोल ट्याकरसहित ८० वटा गाडी नेपाल प्रवेश गरेका छन् भने नेपालतर्फबाट एनएल ०१ एच ८३८५ नंको मालबाहक ट्रकसहित तीनवटा गाडी भारत भित्रिएका छन् । भारत सरकारको रु दुई अर्बको लागतमा निर्माण गरिएको एकीकृत जाँच चौकी अलौ र सिर्सियाको ११५ बिघा क्षेत्रफलमा फैलिएको छ ।

नेपाल सरकारले वीरगञ्ज महानगरपालिकाको सिर्सिया र अलौमा गरी ३१५ जना जग्गाधनीको ११५ बिघा क्षेत्रफल जग्गा अधिग्रहण गरी उपलब्ध गराएपछि उपहारस्वरुप  भारत सरकारले एकीकृत जाँच चौकी  बनाइदिएको हो । 

भारतले निर्माण गरिदिएको एकीकृत जाँच चौकी मा ७३० वर्ग मिटर क्षेत्रफलका पाँचवटा ठुला गोदाम, दुईवटा ठुला सेड, कार्यालय सञ्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारीको आवास भवन, उपचार केन्द्र भवन, खाजा तथा खाना घर, बैङ्क तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाल, आइसिपीमा सवारी साधन प्रवेश तथा निकास हुने कालोपत्रे सडकलगायत भौतिक संरचना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू