अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

पिछडिएको वर्गको उत्थान बिना समृद्धि असम्भव – शर्मा

बिआरटीनेपाल २०७४ चैत २२ गते १९:४९ मा प्रकाशित

पोखरा, प्रदेश नं ४ का उपसभामुख सिर्जना शर्माले पिछडिएको वर्ग र समुदायको उत्थान बिना समृद्धि असम्भव भएको बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिका–१७ द्वारा बिहीबार यहाँ आयोजित ‘व्यक्तिगत घटना दर्ता तथा कानुनी सचेतना’ विषयक एक दिने कार्यक्रमको उद्घाटन गर्दै उहाँले समाजको तल्लो वर्गले विकासको अनुभूति नगर्दासम्म सङ्घीयताको मर्म पूरा नहुने बताउनुभयो ।

अब बन्ने कानुन समाजमा पिछडिएको वर्ग तथा समुदायलाई लक्षित हुनेमा जोड दिँदै उहाँले उक्त वर्ग पनि आफ्ना हकअधिकारको संरक्षण एवं कार्यान्वयनका लागि जागरुक बन्नुपर्ने बताउनुभयो ।संविधानले महिलाको हकहितलाई अधिकतम समेटेको चर्चा गर्दै उपसभामुख शर्माले महिलाहरू आर्थिक समुन्नतिका लागि उद्यमशीलतातर्पm उन्मुख बन्नुपर्ने धारणा राख्नुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका–१७ का अध्यक्ष तीर्थराज अधिकारीले व्यक्तिगत घटना दर्ता गर्न आउने सर्वसाधारणले त्यसका विधि र प्रक्रियाबारे पूर्व जानकारी राखेमा छिटोछरितो सेवा प्राप्त गर्नसक्ने बताउनुभयो । 

कार्यक्रममा महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, कार्यक्रम संयोजक एवं वडासदस्य तारा सेवा परियार, वडा सचिव प्रजापति बराललगायतले बसाइँसराइ, जन्म, विवाह, मृत्युजस्ता पाँच किसिमका व्यक्तिगत घटना समयमै दर्ता गरेर राज्यबाट पाउने सेवा सुविधा लिन सकिने बताउनुभयो ।

टोल विकास संस्था, आमा समूह, क्लबलगायत विभिन्न सङ्घसंस्थाका ४०० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता कमल अर्याल र पोखरा लेखनाथ महानगरपालिकाका प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू