अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा गुराँस फुल्ने समयमा परिवर्तन

बिआरटीनेपाल २०७४ चैत २२ गते १०:५० मा प्रकाशित

तेह्रथुम, २२ चैत ।  गुराँसको राजधानी भनेर चिनिने पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन । गुराँस हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने बेला कम मात्रै गुराँस फुल्दा पर्यटक निराश बन्न थालेका छन् ।

माघ अन्तिम साताबाटै फुल्न थाल्ने गुराँस यो वर्ष ढिला गरेर फुलेको हो । यतिबेला टिएमजेमा गुराँसका भर्खर फुल्न लागेका कोपिला मात्रै पाइन्छ । तेह्रथुमको तीनजुरे, ताप्लेजुङको मिल्के र संखुवासभाको जलजले मिलेर बनेको टिएमजे क्षेत्रको प्रवेशद्वार वसन्तपुरदेखि टुटेदेउराली, घुर्मिसे, पाथीभरा, पाँचपोखरी क्षेत्रमा कम मात्रै गुराँस फुलेको छ ।

मौसमअनुसार तलबाट क्रमशः माथितिर जेठ मसान्तसम्म नै गुराँस फुलिरहने गर्छ । तर यो वर्ष तल्लो क्षेत्रमै ढिलो र कम मात्रै गुराँस फुलेकाले माथिल्लो क्षेत्रमा अझै ढिलासम्म गुराँस फुल्ने टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष केदारनाथ लिम्बूले बताउनुभयो ।

यो क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस फुल्ने गरेको छ । यस क्षेत्रमा चैतको पहिलो सातादेखि नयाँ वर्षको दिन र वैशाख–जेठ महिनासम्म पनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गर्दछ । यो वर्ष पनि विगतभन्दा पर्यटकको चहल पहल बढेको तर गुराँस नै कम मात्रै फुलेकाले पर्यटक निराश भएर फर्किने गरेका स्थानीयवासीले बताए ।

गुराँस फुलेर ढकमक्क हुने यो बेला पर्यटकको आगमन भइरहेको छ । तर आउनेले गुराँसका कोपिला मात्रै देखेपछि नरमाइलो मान्दै फिर्ने गरेका टुटेदेउरालीका छिरिङ लामाले बताउनुभयो । विगतमा फागुनमै तीनजुरेका डाँडाकाँडा गुराँस फुलेर राताम्मे भइसक्थो । तर यो वर्ष भने चैतको दोस्रो सातासम्म पनि गुराँसका कोपिला मात्रै लाग्दैछन् ।

तीनजुरे, मिल्के र जलजले क्षेत्रका डाँडा यस वर्ष अहिलेसम्म खाली छन् । गुराँस नफुलेपछि पर्यटक पनि गुराँसमा रमाएका देखिँदैनन् । टाढादेखि गुराँसको सौन्दर्यमा रम्न आउने फूल नदेख्दा खल्लो मानेर फर्कने गरेका छन् ।

जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा गुराँस फुल्ने समयमा परिवर्तन आएको हुन सक्ने गुफाबजारकी हिमा खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू