अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

साठी जना अमेरिकी कूटनीतिज्ञले रुस छोडे

बिआरटीनेपाल २०७४ चैत २२ गते ९:०६ मा प्रकाशित

मस्को, २२ चैत एक जना ब्रिटिस गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास गरेको आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश निकालाको घोषणा गरेपछि सुरु भएको दुई देशबिचको कूटनीतिक समस्या सतहमा आएको छ ।

यस कूटनीतिक दरारको पछिल्लो परिणामस्वरुप बिहीबार केही अमेरिकी कूटनीतिज्ञले रुस छोडेका मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ ।

रुसी राजधानी मस्कोबाट प्राप्त समाचारअनुसार रुसले देश निकाला गरेका ६० जना अमेरिकी कूटनीतिज्ञले बिहीबार मस्को छोडेका छन् । उनीहरू बिहीबारै मस्कोस्थित अमेरिकी दूतावासबाट बाहिरिएका हुन् ।

एएफपी समाचारदाताले भनेका छन्– ६० जना अमेरिकी कूटनीतिज्ञ र उनका परिवारसमेत गरी कैयौँ अमेरिकीहरू मस्कोस्थित दूतावासमा जम्मा भएर बसमा चढी विमानस्थलसम्म पुगेका थिए ।

उनीहरू आजै अमेरिकाका लागि प्रस्थान गरेका छन् । यसअघि पनि अमेरिकाले वासिङ्टनस्थित ६० जना रुसी कूटनीतिज्ञहरूलाई देश छोड्न भनेको थियो ।

उनीहरूले गतहप्ता नै अमेरिका छोडेर आफ्नो देशतर्फ लागेका थिए । ६० जना रुसी कूटनीतिज्ञले वासिङ्टन छोडेको समाचार यसअघि नै आएको थियो ।

साठी जना रुसी कूटनीतिज्ञले गएको शनिवार अमेरिका छोडेर आफ्नो देश प्रस्थान गरेका हुन् । ती रुसी कूटनीतिज्ञहरू आफ्नो परिवारका सदस्यसहित करिब १७० जनाले देश छाडेका हुन् ।

उता अमेरिकाबाट रुसी कूटनीतिज्ञहरू फर्किँदै गरेको दिन नै रुसले पनि यहाँको सेन्ट् पिटर्स्बर्गस्थित अमेरिकी कन्सुलेट कार्यालय बन्द गर्न रुसी सरकारले निर्देशन गरेको थियो ।

सोही कन्सुलेट कार्यालयका ती अमेरिकी कूटनीतिक कर्मचारीहरूले बिहीबार रुस छोडेका हुन् । अमेरिकाले आफ्ना ६० जना कर्मचारीलाई देश निकाला गरेकोले रुस सरकारले पनि ६० जना अमेरिकी कूटनीतिज्ञलाई एक हप्ताभित्र देश छोड्न भनेको थियो ।

साथै रुसले बेलायतले पनि रुसी कूटनीतिज्ञहरू हटाएकोले सोही सरह नै पनि बृटिशहरुलाई देश छोड्न भनेको छ ।

तर अमेरिका र बेलायतले भने आफ्ना कूटनीतिज्ञहरूलाई बिनाकुनै आधार रुसले देश निकाला गरिरहेको भन्दै यस कदमको विरोध गर्दै आएका छन् ।

त्यसै गरी अरू केही युरोपेली र पश्चिमा मुलुकहरूले पनि आफ्नो देशमा रहेका रुसी कूटनीतिज्ञहरूलाई हटाइरहेकोले आफूहरूले पनि सोही बमोजिम ती देशका कूटनीतिज्ञहरू पनि निकाला गर्ने रुसको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू