अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 10:56

धरहरा क्षेत्रमा भवन बनाउन दिने महानगरको निर्णयमा उपप्रमुखको आपत्ति

बिआरटीनेपाल २०७४ चैत २१ गते १९:४८ मा प्रकाशित

काठमाडौँ । कार्यशैली नै गलत भएर हो वा फरक दलबाट प्रतिनिधित्व गर्दाको परिणाम– काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखबीचको मतान्तर सडकमा आउनेक्रम जारी छ । रानीपोखरी पुनःनिर्माणको मामलामा ताला लगाउने र फुटाउने ‘रमिता’मा उत्रिएका उनीहरु धरहरा क्षेत्रको विषयमा पनि आमने–सामने भएका छन् ।

काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रस्थित भिममुक्तेश्वर गुठीको जग्गामा तीन तले व्यवसायिक भवन बनाउन स्वीकृती दिएपछि धमाधम निर्माण भइरहेको छ । तर, महानगरको निर्णय गलत रहेको भन्दै उपप्रमुख हरिप्रभा खड्गीसहित सम्बन्धित र छिमेकी वडाका अध्यक्ष भने विरोधमै उत्रिएका छन् ।

व्यवसायिक भवनले ऐतिहासिक सम्पदाको मौलिकपन हराउने भन्दै स्थानीय पनि महानगरको निर्णयप्रति असन्तुष्ट छन् । तर, विरोधका बाबजुद भिममुक्तेश्वर गुठीसँग निर्माण सम्झौता गरेको अमात्य इन्टरनेशनलले राति–राति काम गरिरहँदा निर्माण स्वीकृति दिने महानगरकै उपप्रमुख खड्गी भने कुनै पनि हालतमा काम अगाडि बढाउन नदिने भन्दै बुधवार स्थलगत अबलोकनमा पुगिन् । सम्बन्धित र छिमेकी वडाका अध्यक्ष पनि महानगरको निर्णय गलत रहेको जिकीर गर्छन् ।

उपप्रमुख खड्गीले तीन तले भवनको निर्माण तत्काल रोक्न र आसपासका टहरासमेत हटाउन निर्देशन दिइन् । खड्गी धरहराको पुनःनिर्माण नभई त्यहाँ स्मृतिपार्क बनाउनु पर्ने पक्षमा छिन् ।

महानगर प्रमुख निर्माणको अनुमति दिने र उपप्रमुख रोक्ने प्रबृत्तिले काठमाडौंका ऐतिहासिक धरोहर क्षेत्र ‘राजनीतिक स्वार्थ’ साध्ने विषय बन्दै जाने हो कि भन्ने खतरा बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने अभियान पुनः अगाडि बढाउन निर्देशन दिएकै बेला उनी नेतृत्वको दल एमालेबाट निर्वाचित नगर प्रमुख विद्यासुन्दर शाक्य भने धरहरा क्षेत्रलाई आर्थिक उपार्जनको थलो बनाउने ध्यानमा लागेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू