अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

कार्कीको ‘जीवन संघर्ष’ सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत २१ गते १०:४९ मा प्रकाशित

काठमाडौँ, थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीद्वारा लिखित ‘जीवन संघर्ष’ कृति आज यहाँ सार्वजनिक गरिएको छ ।

यहाँ आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी, नायिका भुवन चन्द, नायक राजेश हमाललगायत विभिन्न विधाका व्यक्तित्वले सो पुस्तक सार्वजनिक गर्नुभयो । पुस्तकमा म्यान्मा, थाइल्याण्ड र नेपालको कथा समावेश छ । म्यान्मामा नेपालीको प्रवेश, उनीहरूको म्यान्मा बसाइँ, नेपाली वेशभूषा, भाषा र संस्कृतिको सयौँ वर्षसम्म गरेको जगेर्ना, नेपाल र नेपाली समाजप्रति उनीहरूको स्नेह र ममतालगायत विषय कृतिमा समेटिएको छ । 

म्यान्मा र थाइल्याण्डमा दोस्रो विश्वयुद्ध ताकादेखि नै नेपालीको बसोबास रहँदै आएको छ । त्यहाँ नेपालीको मौलिक पहिचान तथा आफ्नो पहिचान कायम राखिरहन नेपाली मूलका व्यक्ति तथा संस्थाले गरेको कामका बारेका सामग्री पनि पुस्तकमा समाविष्ट छन् ।

पुस्तकको पहिलो खण्डमा म्यान्मा नेपालीको बसोबासको शुरुआतको कथा, दोस्रोमा आप्रवासी कामदारका रूपमा थाइल्याण्डमा गरिएको दुःख र संघर्षका कथा, तेस्रोमा थाइल्याण्डमा नेपालीको संगठित प्रयास तथा चौथोमा नेपालमा गोरखा भूकम्पपछि थाई नेपाली संघका तर्फबाट भएका सेवा र सहकार्यका सामग्री छन् ।

पुस्तकको बिक्रीबाट प्राप्त रकम सामाजिक काममा लगाइने भएको छ । आजको कार्यक्रममा धुर्मुस–सुन्तली फाउण्डेशनका लागि पनि पुस्तकको बिक्रीबाट आएको केही रकम तथा कार्कीको परिवार र थाई नेपाली संघका तर्फबाट रु पाँच लाख रकम आजै हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू