अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

समृद्ध सिन्धुली अभियानले महाभारत पदमार्गको अध्ययन गर्ने (भिडियाे )

नमोबुद्ध–सिन्धुलीगढी–फिक्कल पत्र यात्रा अध्ययन गर्न जाने टोलीको विदाइ 

बिआरटीनेपाल २०७४ चैत २१ गते ५:०२ मा प्रकाशित

समृद्ध सिन्धुली अभियानले काभ्रेको नमोबुद्धबाट सिन्धुलीगढी हुँदै सिन्धुलीकै फिक्कलसम्म महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गर्ने भएको छ । अध्ययनका लागि बुधबार अभियानको टोली त्यसतर्फ प्रस्थान गरेको छ । अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङ्कनकर्तालगायतका ब्यक्तिहरु सहभागी छन् । टोलीलाई राजधानीमा बुधबार विदाइ गरिएको छ ।

ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गरिने अभियन्ता सौरभ ढकालले बताए । ढकालले सन् २०१४ मा ग्रेट हिमालयन ट्रेलमा ९९ दिने पदयात्रा गरेका थिए । ‘पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँ पदमार्गको खोजी गर्नु हाम्रो अध्ययन उद्देश्य हो,’ उनले भने, राजधानीबाट नजिकै रहेको महाभारत पदमार्ग आवश्यकताअनुसार लामो र छोटो दुरीमा गर्न सकिन्छ । यसलाई खगोल, बनस्पत्ति अध्ययनका लागि समेत उपयोग गर्न सकिने हाम्रो अपेक्षा छ ।’

यात्राका क्रममा अध्ययन टोलीले नमोबुद्धदेखि काभ्रेको दाप्चा, डराउने पोखरी, काक्रे सिपाली, रोशी, वाल्टिङ, सिन्धुलीको सुनकोशी, घ्याङलेख, सिन्धुलीगढी, रतनचुरा, तीककन्या, डुडभञ्ज्याङ, सुम्नाम पोखरी, खोलागाउँ हुँदै पैदलै फिक्कल पुगेर यात्रा टुंगिने छ ।

यात्राका क्रममा पुगिने ठाउँका स्थानीय जातजाती, संस्कृति, रहनसहन, वातावरण, बनस्पति, सार्बजनिक स्थलहरु, झरना, गुफालगयातका हेर्नलायक स्थलहरु, होमस्टेको सम्भावनालगायतका कुराहरुको अध्ययन गरिने समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । ‘अध्ययनका क्रममा पुगेका स्थलहरुको डिजिटल\एनालग नक्सा, फोटो÷भिडियो, स्थानीय स्तरमा प्राप्त कथाहरु समेटेर नक्सा तयार गर्ने छौं,’ उनले भने, ‘त्यसपछि यस रुटलाई ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान)ले आफ्नो आइटिनरीमा महाभारत ट्रेललाई पनि समावेश गर्ने हाम्रो अपेक्षा छ ।’ यस रुट अध्ययनका लागि टानसँग सहकार्य गरिएको उनले जानकारी दिए ।

महाभारत ट्रेट अध्ययनका लागि राष्ट्रिय प्रकृति कोषसँग अभियानले सहकार्य गरेको छ । अध्यनमा स्टोरी साइकल, आवर ड्रिम सिटी लगायतका संस्थाले सघाउने छन् । यात्रीलाई शिखर सुज, शिवाकोटी ब्यागलगायतले सहयोग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू