अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

उत्तर कोरियाले हतियार बेच्यो : राष्ट्रसंघ

बिआरटीनेपाल २०७४ चैत २० गते १८:५७ मा प्रकाशित

सोल, उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय नाकाबन्दीका बाबजुद सन् २०१७ मा म्यान्मार तथा सिरियामा ठुलो सङ्ख्यामा हतियार बेचेको खुलासा भएको छ ।

स्वतन्त्र राष्ट्रसंघीय अनुगमनकर्ताले तयार पारेको गोप्य प्रतिवेदनअनुसार उसले प्रतिबन्धित सामग्रीहरूको निर्यातमार्फत २० करोड डलरभन्दा बढी कमाएको छ । प्रतिवेदनमा उत्तरले सिरियालाई रासायनिक अस्त्रनिर्माण गर्न मद्दत गरिरहेको उल्लेख छ । त्यसै गरी, म्यान्मारलाई ब्यालेस्टिक क्षेप्यास्त्र उपलब्ध गराइएको दाबी गरिएको छ ।

राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रतिबन्ध समितिमा बुझाइएको प्रतिवेदनका अनुसार उत्तर कोरियाले चीन, रुस, दक्षिण कोरिया, मलेसिया र भियतनामका विभिन्न बन्दगाहमार्फत कोइलाको समेत व्यापार गरेको जनाइएको छ । उक्त कार्यका लागि प्योङयाङले कोइला चीनमा उत्पादन गरिएको नक्कली काजगपत्रसमेत तयार पारेको प्रतिवेदनमा उल्लेख छ । विज्ञहरूद्वारा तयार पारिएको प्रतिवेदनमा कैयौँ देशहरूले उत्तर कोरियाली निर्यात रोक्न नसकेको जनाइएको छ । 

उत्तर कोरियाको बढ्दो परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमका कारण १५ सदस्यीय सुरक्षा परिषद्ले सन् २००६ देखि प्रतिबन्ध लगाएको हो । त्यसलगत्तै प्योङयाङमाथि अमेरिका, युरोपेली सङ्घ, दक्षिण कोरिया, जापानलगायतले उसका परमाणु तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमको निरन्तरताको प्रतिक्रियामा प्रतिबन्धलाई थप कडा पारेको हुन् ।

प्रतिबन्धमा प्योङयाङले निर्यात गर्दै आएका कोइला, फलाम, कपडा, माछा, कच्चा तथा प्रशोधित तेलमाथि प्रतिबन्ध लगाएको हो । प्रतिवेदनमा उत्तर कोरियाले, ‘ती प्रस्तावहरूले प्रतिबन्ध लगाएका लगभग सबैजसो सामग्री २०१७ को जनवरी र सेप्टेम्बरको बीचमाउत्तर कोरियाले नियमित रूपमा निर्यात गरेको’ जनाइएको छ ।

‘उत्तर कोरियाले प्रतिबन्धका बाबजुद विश्वव्यापी तेल आपूर्तिलाई प्रभावित पार्दै अन्तर्राष्ट्रिय कम्पनीमार्फत तेल निर्यात गरेको छ ।’– प्रतिवेदनको पृष्ठ २१३ मा उल्लेख छ । यसबारे राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूतले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । तर चीन र रुसले भने बारम्बार आफूहरूले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध कार्यान्वयन गरेको दाबी गर्दै आएका छन् ।

प्रतिवेदनले नाम उल्लेख नगरी कैयौँ बहुराष्ट्रिय तेल कम्पनीहरूमाथि उत्तर कोरियालाई पेट्रोलियम पदार्थ बिक्री गर्न खेलेको भनिएको भूमिकाका लागि अनुसन्धान जारी राखिएको जनाएको छ । प्रतिवेदनअनुसार उत्तरले ५ वर्षको अवधिमा उत्तर कोरियाले सिरियाको ‘वैज्ञानिक अध्ययन तथा अनुसन्धान केन्द्र’ लाई ४० पटकसम्म विभिन्न सामग्री पठाएको पत्ता लागेको छ । सिरियाको ‘वैज्ञानिक अध्ययन तथा अनुसन्धान केन्द्र’ ले देशको परमाणु हतियार कार्यक्रमसम्बन्धी नियामक निकाय हो ।

सिरियाले सन् २०१३ मा परमाणु कार्यक्रम नष्ट गर्न सहमत भएको थियो । तर कूटनीतिज्ञ तथा हतियार निरीक्षकहरूले सिरियाले गोप्यरूपमा परमाणु हतियार निर्माण गरेको शङ्का गर्ने गरेका छन् । यसबारे संयुक्त राष्ट्रसंघका लागि सिरियाली नियोगले प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।
यसअघि सिरियाली अधिकारीले अनुगमनकर्तालाई उत्तर कोरियाबाट खेलकुद सामग्री मात्रै भित्र्याइरहेको जानकारी दिएका थिए । राष्ट्रसंघीय अनुगमनकर्ताका अनुसार म्यान्मारले उत्तर कोरियाबाट ब्यालेस्टिक क्षेप्यास्त्र प्रणाली खरिद गरेको प्रमाण भेटिएको छ ।

उनीहरूले म्यान्मारले परम्परागत हतियार, क्षेप्यास्त्र प्रहार गर्ने उपकरण र जमिनबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्र खरिद गरको जनाएका छन् । राष्ट्रसंघका लागि म्यान्मारका राजदूत हाउ डू सुआनले भने उत्तर कोरियासँग आफ्नो देशले कुनै पनि हातहतियार खरिद नगरेको दाबी गरेका छन् । उनले उत्तर कोरियामाथि राष्ट्रसंघीय प्रतिबन्धको पालना गर्न म्यान्मार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू