अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४१ | Colorodo: 17:56

एकता संयोजन समितिले प्रतिवेदन बुझायो :चुनाव चिन्ह र प्रस्तावनाबारे निर्णय लिने जिम्मेवारी दुई अध्यक्षलाई

बिआरटीनेपाल २०७४ चैत २० गते ९:५६ मा प्रकाशित

काठमाडौं- पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठन भएका दुई कार्यदलले चुनाव चिन्ह र प्रस्तावनाबारे निर्णय लिने जिम्मेवारी दुई अध्यक्षलाई दिएका छन्।

कार्यदलले मंगलबार एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएका थिए। ‘चुनाव चिन्ह र प्रस्तावनामा लेख्ने विषयमा निर्णय लिन कार्यदलले दुई अध्यक्षलाई जिम्मा दिएको छ,’ राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य देवेन्द्र पौडेलले भने, ‘जनयुद्ध वा जनक्रान्ति के लेख्ने भन्नेबारे छलफल भएको छ त्यसको निर्णय अध्यक्ष द्वयले गर्नुहुने छ।’

मंगलबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदन बुझेका थिए। प्रतिवेदन अध्ययन पछि एकता संयोजन समितिको बैठक बिहीबार बस्ने छ।

यस्तै कार्यदलले पार्टी एकता बैशाख ९ गते गर्न सुझाव दिएको छ। एकताको मितिबारे पनि एकता संयोजन समितिले अन्तिम निर्णय लिने छ।  एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन्। यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। कार्यदलले बुझाएको प्रतिवेदनम समाजवादी कार्यक्रमको रुपरेखा समेत तयार पारिएको छ। इतिहासको समिक्षा सहित बनाइएको प्रतिवेदनमा एकीकृत पार्टीको नीति तथा कार्यक्रमबारे समेत उल्लेख गरिएको छ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६०/४० को सहकार्य गरेका दुई पार्टीले त्यही बेला निर्वाचन पछि पार्टी एकता गर्ने घोषणा गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू