अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

विज्ञ सम्मेलनको तयारी सम्बन्धमा सरोकारवालासँग छलफल

बिआरटीनेपाल २०७४ चैत २० गते ८:५४ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घले आगामी अक्टोबरमा आयोजना गर्ने विज्ञ सम्मेलनको तयारी एवं गृहकार्य तीव्र पारेको छ । सम्मेलनको तयारी स्वरूप १ अप्रिलमा सङ्घले नेपालस्थित सरोकारवालाहरुसँग छलफल गरेको छ । छलफलमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न चार अनुसन्धान केन्द्र तथा अन्य विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले यस सम्मेलन मार्फत विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरू र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरूसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यावसायिक संस्थालाई जोड्नुपर्ने भनाइ राख्नुभएका थिए ।

छलफलमा एन.आर.एन.ए. एकेडेमीका संयोजक डा.प्रमोद ढकालले सम्मेलनको उपयोग संस्थागत विकासमा हुनुपर्ने धारणा राख्नुभयो । गैर आवासीय नेपाली सङ्घका संरक्षक जीवा लामिछानेले नेपालमा गैर आवासीय नेपालीहरूले उनीहरूसँग भएको ज्ञान, सीप र प्रविधि नेपालको हितमा लगानी गर्ने सेतुको रूपमा सम्मेलनलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाका उपाध्यक्ष कुमार पन्तले नेपालमा अध्ययन र अनुसन्धानमा संलग्न विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूको सहयोगले सम्मेलन अझ बढी प्रभावकारी हुने र सो संलग्नता मार्फत विदेशमा बस्ने नेपालीसँग संस्थागत सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो । सम्मेलनमा विज्ञहरूसँग समन्वय गर्ने जिम्मेवारी पाउनुभएका विधान संशोधन समितिका संयोजक डा.हेमराज शर्माको नेतृत्वमा सरोकारवालाहरुको छलफलबाट प्राप्त सुझाव समेटेर सम्मेलन सम्बन्धमा विस्तृत विवरण प्रकाशित गर्ने तय भएको छ ।

यस्तै आयोजना सम्बन्धमा नेपालमा एक इकाई समेत स्थापना गर्ने निर्णय छलफलबाट भएको छ । सो छलफलमा गैर–आवासीय नेपाली सङ्घका उपाध्यक्ष कुमार पन्त, संरक्षक जीवा लामिछाने, विधान संशोधन समितिका संयोजक डा. हेमराज शर्मा तथा एन.आर.एन.ए. एकेडेमी संयोजक डा. प्रमोद ढकाल लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू