अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

(कथा) सहयात्री

लीलाराज दाहाल २०७४ चैत २० गते ०:४५ मा प्रकाशित

मैले उत्साहका पंखेटा फिँजार्दै लामो यात्राको योजना बनाएँ र तुलसीपुर सम्म पुग्ने अठोटको झोला बोकेर नयाँ बसपार्कतिर हान्निएँ |

साझा यातायातको बृद्ध भैसकेको बस मलाई बोकेर तुलसीपुरतिर बेगिन आतुर भएर पर्खीरहेको थियो | आइपुग्न बाँकी यात्रु म मात्रै थिएँ क्यार ! म बसभित्र पस्ने बित्तिकै बस अघि बढुं कि नबढुंको आलश्यता देखाऊँदै सुस्तरी अगाडि बढेको थियो |

बस भित्रको मध्य सिटमा मैले आफ्नो आसन जमाएं र झोला भित्रबाट दैनिक पत्रिका निकालेर सुस्तरी नियाल्न थालें | दश मिनेटको अन्तराल मै बस गोंगबु नयाँ बसपार्कबाट बालाजु , स्वयम्भु , सितापाइला हुँदै कलंकी पुगीसकेको थियो | कलंकीमा केही यात्रु चढाएपछि कलंकीलाई पनि बाइ गरेर बस अगाडि हुँइकिन थाल्यो | मैले पनि निर्मोही प्रेमीले झैं मन कठोर बनाएर कलंकीलाई बिछोडको हात हल्लाएँ | बसको वेगवान रमानापछि मेरो हातमा पल्टिरहेको पत्रिका पुन: झोलामै कोचिन बाध्य भएको थियो |

कलंकीमा चढेका सबै यात्रुहरु सिटमा बसी सकेका थिएनन् | कोही कोही यात्रु बसेका भए पनि धेरै जसो आ- आफ्ना सिट पहिचान गर्ने अभियानमा जुटेका थिए | सिट खोज्ने मध्येकी एक युवती सिट नम्बर हेर्दै हेर्दै म नजिकै आइपुगी र म संगैको अर्को सिट आफ्नो भएको एकिन गरेर झोला सिटमाथिको रय़ाकमा थन्क्याएर प्रफुल्ल भै सिटमा आसन जमाई |

म झ्याल तिरको सिटमा थिएँ | मलाई सन्देह थियो उसले झ्याल तिरको सिट माग्छे भनेर तर मागिन | मेरा आँखा एकाएक उमाथि घोप्टिएका थिए | टिसर्ट र जिन्सको पहिरनले उसलाई निकै नै आकर्षक देखाएको थियो |

बस आफ्नै गतिमा गुडिरहेको थियो | बसभित्र रहेका यात्रुहरु कोही बसको झ्यालबाट बाहिरको दृश्य अवलोकन गर्दै थिए त कोही कोही समसामयिक गफगाफमा मग्न भैरहेका थिए |

निकै समय सम्मको मेरो मौनता उसका लागि गार्हो सजिलो कस्तो भैरहेको थियो मैले खासै वास्ता गरेको थिइंन | जति सुकै अपरिचित भए पनि एउटा सिटमा भएपछि संवादको सिलसिला जोडिनु अनौठो कुरा होइन | तर म आफैंले मौनताको पर्खाल लगाएर बसेको थिएँ |

म र उ बीचको मौनताको तगारो निकैपछि सम्म हटिसकेको थिएन | घरिघरि मैले उसलाई हेर्ने क्रममा उसका चंचल नयन पनि म तर्फ सोझिएका मैले अनुभव गरिरहेको थिएँ | उसका र मेरा नजर एक पटक के एकाकार भएका थिए , उसको ओठबाट मुस्कानको एक झोक्का लहर बाहिर आएको थियो |

उसको म प्रति नकारात्मक धारणा छैन भन्ने म भित्र के अनुभूति भएको थियो मेरो मनमा एकैचोटी आनन्दको बिज अंकुराउन थाल्यो | उसको ओठमा अकस्मात् बलेको बिजुली ननिभ्दै उसले मलाई नियाल्दै भनी, “ हेल्लो, सुमन ! हाउ आर यु ?”

मैले उसको सवालको प्रत्युत्तर गर्नु शिष्टाचारको नमुना हुन्थ्यो होला तर म असभ्य नै ठहरिन राजी भएर मौन धारण गरेर बसी रहें |
किनकि म सुमन थिइंन |

अव भने हामी बीच रहेको मौनताको पर्खाल उसले एकतर्फी रुपमा भत्काई | उसको ओठबाट पुन: सवालको तीर निस्क्यो | उसले मलाई गहिरोसंग नियालेर सोधी , “ मलाई चिनेनौ ,सुमन ? तिमी म संग किन नबोलेको ? भन न के ! किन नबोलेको ? ”

उसको हाउभाउ र बोलीबाट मैले के थाहा पाएँ भने उ मस्तसंग लाडप्यारको आसनमा बसेकी छे | उ मसंग यस्तो संग नजिकिन थाली कि मानौं उसको मसंग सदियौंदेखि परिचय रहेको छ |

यस भन्दा पहिले कहिल्यै भेट नभएकी युवतीले मलाई कसरी सुमन भनेर पुकारी रहेकी छे अनि किन यति आत्मियता प्रकट गरिरहेकी छे ! के रहस्य लुकेको छ यस भित्र ! म त त्यसै त्यसै आश्चर्यको तलाउमा डुब्न थालेको थिएँ |

उसले मलाई पुन: जोड जोडले घच्घच्याउन थाली | आवेगको पंखा चलाउँदै उसले फेरि सोधी, “ सुमन ! तिमीले मलाई यति छिट्टै बिर्स्यौ ? कस्तो भुलक्कड मान्छे तिमी त ! हा हा हा | ”

उ जोड जोडले हाँस्न थाली | उ भित्रको मनोवेग रोकिएको थिएन | उ सार्है नै अस्वाभाविक मनस्थितिमा रहेकी छे भन्ने मैले पहिले नै लख नकाटेको त होइन तर यति छिट्टै यसरि भावनाको बर्षा गराउली भन्ने चाहिं मैले सोचेकै थिइंन |

वरिपरिका मानिसहरुका आँखा म र उ माथि घोप्टिए | उनीहरु हामी प्रति जिज्ञासु भएको मैले गहिरो अनुभूति गरें | हामीमाथि केन्द्रित ती आँखाहरुको सोधाई थियो, “ के चाला हो तिमीहरुको ? ”

कुनै कुनै यात्रुहरुलाई त रमाइलो लाग्दै थियो कि उनीहरु घरिघरि हाँस्दै थिए | म भित्रको त्रासको बिरुवा यति छिट्टै हुर्कंदै थियो कि केही छिनमा नै त्यो बिरुवा अजङ्गको रुखमा बदलिएको थियो |

म भित्र मडारिइ रहेको उकुसमुकुसको बादल फाटेको थिएन | म कालो निलो हुँदै गैरहेको थिएँ |

बसको गुडाइको गति र उसको बोलाईको गति कुन छिटो छ , मैले अनुमान लगाउनै सकी रहेको थिइंन | उसले पुन: बोलीको लगाम खोलेर भन्न थाली , “ सुमन , तिमी यतिका दिन सम्म कहाँ थियौ ? मैले तिमीलाई कहाँ कहाँ खोजिंन ? कस्तो निर्मोही बन्न सकेको तिमी त ! ”

अव उसले मेरो कपाल मुसारी दिन थालेकी थिइ | मलाई भित्रैदेखि लाज लाग्न थाल्यो | म भित्र भित्रै शरमको बियाँ अंकुराउन थालीसकेको थियो | बस भित्रका तमाम यात्रुहरु फर्की फर्की मलाई नै हेरिरहेका थिए | म भने के गरूँ र कसो गरूँको अवस्थामा पुगिसकेको थिएँ | केहीबेर उबाट मुक्त हुन मैले आफ्ना आँखाका ढकन लगाएँ र निदाएको अभिनय गर्न थालें |

“ सुमन, सम्झ त ती दिनहरु ! जुन दिनहरुमा तिमी र म हरदम संगै हुन्थ्यौं र जीवन साथी बन्ने भनेर वाचा गर्थ्यौं | तिम्रो खुसीमा म पनि खुसी हुन्थें र तिम्रो दु:खमा म पनि दु:खी हुन्थें | तिमी पनि त म बिना बाँच्न सक्दिनँ भन्थ्यौ नि ! तर खोइ त ती वाचा कसम ? कहाँ गए ती दिनहरु ! तिमी मलाई छोडेर कता हराएका थियौ , सुमन ? ” उ मलाई नै घच्घच्याएर भनिरहेकी थिइ |

मैले निदाएको अभिनय गर्दा पनि सुख पाइरहेको थिइनँ | उ कहिले मेरा गाला सुम्सुम्याउंथी | घरि मेरा हातका औंलाहरू खेलाउंथी भने घरि मेरो टाउकाको केश खेलाएर मलाई अर्धचेतनाको सुसुप्त अवस्थाबाट जगाएर ताजा बनाउँथी |

म फेरि उसलाई आफु सुमन नभएको जनाउ दिन्छु तर उ कसै गरी पत्याउंदिन | उसका आँखाहरुले मलाई सुमन नै देखिरहेका छन् | उसको हृदयले मलाई सुमन नै ठानिरहेको छ |

“ माफ गर्नुस् , मिस ! म सुमन होइन | तपाईं भ्रमको घोडा चढ्नु भएको छ | यसले न तपाइलाई फाइदा गर्छ न मलाई | ” मैले अलि झर्कोफर्को गरे झैं गरी वास्तविकताको चड्कन हानें उसलाई | वास्तविकताको चड्कनले पनि कुनै फरक पार्दैन उसलाई | उ पु:न भन्न थाल्छे , “ म क्याम्पसको नृत्य प्रतियोगितामा प्रथम हुँदा म भन्दा बढी तिमी नै खुशी भएका थियौ | त्यस पछि तिमीले मलाई फूल उपहार दिएर चुमेका थियौ | नपत्याए हेर त गालामा ? ”

म अव झन् छटपटिन्छु | भित्रै देखि लजाउंछु | म कसरी प्रतिवाद गरूँ –उसका कुरा झुटा हुन् भनेर | अहिले सम्म मैले धैर्यताको बाँधलाई भत्कन दिएको छैन |

“ तिमीलाई नृत्यकला खुव मन पर्छ, हगि सुमन ? तिम्रै खुशीको लागि मैले नृत्यको क्लास पनि गरें नि ! अहिले त म एक नम्बरकी न्रित्यंगना भैसकें ! तिमी किन चुपचाप छौ , सुमन ? भन न के ! किन चुपचाप छौ ? के भो तिमीलाई ? ” उ फेरि मेरो हृदयमा आत्मियताको मलम लगाउंदै भन्छे |

“ म के बोलुं ! म सुमन होइन | ” भन्न त भन्छु | मलाई थाहा छ , मेरो प्रभाव रहित भनाइले उसमा कुनै परिवर्तन आउनेवाला छैन | त्यस पछि म मौन रहन्छु | उसले मलाई एकनासले कथा सुनाइ रहेकी छे | म चुपचाप सुनिरहेको छु , वाचाल कथा बाचकको कथा सुनेर बसेको अवोध बालक झैं | त्यस बाहेक केही गर्न सकिरहेको छैन |

नौबिसेको चिया खाजापछि पुन: साझा यातायातको बुढो बस आलश्यताका पांग्रा गुडाउंदै अगाडि बढ्न थालिसकेको छ | म पनि आफ्नो सिटमा बसेर निद्रालाई पक्रन जोड बल खर्चंदै छु | केही समयदेखि उ चुप लागेकीले मेरो मनमा सान्त्वनाको दियो बल्न लागेको थियो |
तर त्यो खुशीको दियो धेरै बेर बल्न पाएन |

उ फेरि बोल्न थाली हाली , “ तिमीले मलाई सांच्चिकै बिर्से कै हौ त , सुमन ! खै , बिर्सनु त नपर्ने हो | मैले तिमीलाई बिर्सेको छैन त ! हुन त भंवराले फूलको रस चुसी सकेपछि कहाँ सम्झन्छ र फूललाई ! होइन त सुमन ? ”

म यतिखेर यस्तरी वेदनाको खाडलमा पछारिएँ कि ममा अव त्यहाँबाट उठ्न सक्ने ताकत नै बाँकी रहेन | मैले बसबाट ओर्लेर अर्को बस चढ्ने सम्मको योजना बनाई सकेको थिएँ | उबाट मुक्त हुने उपाय मेरो दिमागमा यो मात्रै आएको थियो | समस्याको दलदलबाट उम्कने उपाय सोच्दा सोच्दै मन एक तमासको भैरहेको थियो | फेरि अर्को बिचारले मथिंगलमा बास गर्न थाल्यो | बस फेर्नु भन्दा सिट फेर्नु अधिक बुद्दिमानी हुने ठानेर मैले पछिल्लो सिटमा बसेकी महिलालाई आग्रह गरें | उनले मेरो आग्रहलाई कुनै मान्यता दिईनन् | अर्को व्यक्ति परिसकेको खाडलमा पर्न कसको पो मनले मान्छ र ! त्यसैले उनले मेरो कुरै सुन्न चाहिनन् |

“ तिमीले बिर्स्यौ त के भो र ! म सम्झाइ हाल्छु नि ! म तिम्री प्रेमिका क्या ! अझ चिनेनौ ? म रन्जना क्या ! चिन्यौ अव ! भन न के ! चिन्यौ ! कस्तो नचिनेको ! ” मेरो हात दह्रोसंग समाएर उ भनिरहेकी थिइ | उसका हातहरु थरथरी कामिरहेका थिए | उ सन्चो नभए जस्तो , कस्तो कस्तो अनुहारले मलाई नै हेरिरहेकी थिइ | उसको अवस्था देखेर मलाई भित्रैदेखि उकुसमुकुस भैरहेको थियो |

उसले पुन: अतितको नाँग्लोमा पीडाका दाना निफन्दै भनी , “ सुमन , तिमी घरमा थिएनौ ? मैले तिमीलाई कत्ति खोजी सकें ! तर सबै प्रयास व्यर्थ भए ! रोएर बिताएँ कति दिन ! यतिका बर्ष कसरी बिताएँ आफैंलाई थाहा भएन ! ”

उसका आँखाभरि आँशु टल्पलाई रहेका थिए | अव उसको वेदनाले मलाई पनि असह्य भएर आयो ! मेरा पनि आँखा रसाए ! शायद उसले पनि मेरा आँखाका आँशु देखी र भनी , “ अहिले त चिनी हाल्यौ नि तिमीले ! मलाई तिमीले बल्ल चिन्यौ ! ”

यति भनेर उ मेरो छातीमा आफ्नो टाउको अड्याएर सुस्ताउन थाली | उसको ओठभरि मुस्कानको लहर दौडन थाल्यो | उसको मनभित्र रहेका वेदनाका धव्वाहरुलाई एकै छिनको खुशीको पोकाले विस्थापन गरिदिएको थियो | उसका लागि यो सर्वाधिक खुशीको क्षण थियो |
म केहीबेर बसको सिटमा निदाएँ |

तर उसले मलाई तुरुन्तै ब्युँझाइ हाली , “ सुमन , निदायौ ! म नहुँदा पनि तिमी यसरि नै निदाउंथ्यौ ? मलाई त रातमा निद्रा न दिनमा भोक भएको थियो | ”

उसले मेरो बायाँ हातको नाडी छामेर फेरि भन्न थाली,“ हेर, कति दुब्लाएको ! आधा घटेछौ तिमी त ! हुन त म पनि त आधा दुब्लाई सकें नि ! के पो भएन मलाई ! कति दिन वियोगमा बिताएँ | ”

उसको वियोगान्त कथाको अन्त्य हुने कुनै छाँट नै देखिएन | मैले उसको कथा सुनी मात्र रहें | उसले सुनाई मात्र रही एकनास | यतिखेर सम्म बसले पूर्व पश्चिम राजमार्ग छोडेर दांगको घोराही तर्फको सहायक सडक समाती सकेको थियो | अव मैले उसलाई जसरी पनि भ्रमको दलदलबाट मुक्त गर्ने अठोट गरें किनकि मेरो गन्तव्य आइपुग्न धेरै समय लाग्ने थिएन | मैले भद्रताको कैंचीले उसको अर्धचेतन मनको शल्यक्रिया गर्नु जरुरी भैसकेको थियो | म निकै नै नम्र भएर उ सामू प्रकट भएँ | मैले भनें , “ हेर्नुस् , म सुमन होइन | तपाईं मेरो बारेमा गलत सोच्दै हुनुहुन्छ | तपाईं भ्रममा हुनुहुँदो रहेछ | हेर्नु हुन्छ भने म प्रमाण पनि देखाउन सक्छु | ”

“ प्रेममा आत्मा भन्दा ठूलो के प्रमाण हुन सक्छ , सुमन ? मेरो मनले तिमीलाई सुमन भनेर स्वीकारी सकेपछि त्यो भन्दा ठूलो प्रमाण अरु के चाहियो ? तिमी मेरो प्राण हौ ! तिमी मेरै सुमन हौ ! तिमी अव मलाई कदापि नछक्याऊ , प्यारा ! म मेरो जीवनभरि तिम्रै साथ रहन चाहन्छु | मेरो काले , अव मलाई छोडेर कतै नजाऊ है ! ” उ मलाई नै नियालेर भनिरहेकी थिइ |

मैले प्रतिवाद गर्न खोजेको के थिएँ उसले फेरि भन्न थाली , “ तिमी यति कठोर नबन सुमन ! म जिन्दगीको परिभाषा बल्ल बुझ्दै छु | पुरुष र महिला शारीरिक रुपमा मात्र फरक हुँदा रहेनछन् | गुण र मानवीयताको आधारमा पनि फरक नै हुँदा रहेछन् | त्यतिखेर म तिम्रा खुशीहरुलाई आफ्नै खुशी सम्झन्थें | तिम्रा ओठका मुस्कानहरु मेरा आफ्नै जस्ता लाग्थे | हाम्रो प्रेम प्रगाढ भएको बेला म तिम्रै लागि जन्मेको ठान्थें | म तिमीलाई चाहन्थें , तिमी मलाई ! एकदिन तिमीले मलाई आफ्नो कोठामा लगेका थियौ ! त्यतिखेर मैले तिम्रो आग्रहलाई नकार्न सकिन |

तिमी त्यतिबेला मेरो भावना र दिल भन्दा मेरो शरीर र यौवन प्रति बढी लालयित थियौ | तिमीले के चाहिं गरेनौ र त्यतिखेर ? म एउटी कुमारी युवतीबाट जसरी तिमीले आफ्नो यौनेच्छा पुरा गर्यौ तेस्ले मलाई पेशेवर यौनकर्मी महिला भन्दा तल्लो श्रेणीमा झारेको थियो | उसबेला मैले आफ्नो जिन्दगीको बारेमा केही सोचिन | तिमीसंग जिन्दगी बिताउने आशै आशमा म लुटिएँ | मेरो कौमार्य नष्ट भयो | ”
उ धाराप्रवाह रुपमा आफुलाई पोखिरहेकी थिइ | उ भित्रको धैर्यताको बाँध भत्की सकेको थियो | अव ममा पनि प्रतिवाद गर्न सक्ने शक्ति बाँकि रहेन | उ भित्रको आक्रोशको नदी निरन्तर बगिरहेको थियो |

उसले आफ्नो भनाइको प्रवाहलाई रोकिन | उ भन्दै गई , “ तिमी एकदिन क्याम्पसको परीक्षा सकेर घर जान्छु भनेर केही दिनका लागि मबाट बिदा भएका थियौ | कति समय पछि अहिले भेट हुँदा म सुमन होइन भनेर छल्न खोझ्दै छौ ! कस्तो मन हो तिम्रो ,सुमन ! तिमीले त्यो क्षण बिर्स्यौ जुन क्षणमा म आफ्नो यौवन र भौतिक शरीर नै तिम्रा सामु सुम्पन्थें ! तिमी त मेरो सर्वस्व हौ ! अव पनि मलाई छोडेर गयौ भने म तिम्रै नाऊँ जपेर मर्नेछु ! म त अमर हुनेछु प्रेमका खातिर जिन्दगी बलिदान दिएर ! तेतिखेर तिमी भने काँतर , आत्माहिन र धोकेवाज पुरुष कहलिने छौ | प्रेमको राज्यमा तिमी खल नागरिकका रुपमा परिचित हुनेछौ ! ”

यति भनेर उसले मलाई निकैबेर नियाली रही | अनि मलाई विश्वास दिलाउन आफ्नो ब्याग खोली र अटोबुक निकाली | उसका सम्सयका हातहरुले मलाई स्पर्श गरिरहेका थिए | अटो बुकमा रहेको फोटो दुरुस्त म जस्तै थियो | नाम पनि सुमन नै लेखेको थियो | सुमनले त्यस डायरीमा सारै जीवन्त कुराहरु लेखेको रहेछ | अव भने मलाई उसको पीडाले पोल्न थाल्यो | उसलाई मैले सहानुभूतिका आँखाले हेर्न थालें |
वरिपरिका मानिसहरुले मलाई सल्लाह दिए,“ तपाई केही बेरका लागि सुमन बनी दिनुहोस् | उसको आहत हृदयमा प्यारको मलमले शितलता प्रदान गर्नेछ | ”

त्यसपछि मैले प्रतिवाद गर्न छोडी दिएँ |

उ शरीरभरि उमंगको पंखेटा लगाएर मुक्त गगनमा उडेर सुखद भबिष्यको कल्पनामा डुब्न थाली | उ मनभरि प्रसन्नता पालेर हर्षको शिखरमा उक्लेकी थिइ | मैले भने प्रेममा धोका पाएको आत्माको क्रन्दन र जिन्दगीको गति कस्तो हुन्छ, थाहा पाएँ |

करिव करिव बार घन्टाको पट्यार लाग्दो लामो यात्रापछि बसले तुलसीपुर पुरयायो | मलाई भने तुलसीपुर आइपुगेकोमा कुनै हर्ष लागेको थिएन |

बसपार्कमा पुगेर बस रोकियो | सबै यात्रुहरु बसबाट धमाधम ओर्लन थाले | उसले मलाई बित्ता भर छोडेकी थिइन | उसले मेरो हातमा समाई रहेकी थिइ | यतिखेर मलाई लागेको थियो – मलाई समस्याको हातले समाई रहेको छ |

म सुस्तरी बसबाट भुँइंमा ओर्लें | उ पनि पछि पछि बसबाट ओर्ली | बसबाट उ तल के ओर्लेकी थिइ , एक जना अध्बैंसे पुरुष भान्जी भन्दै उ नजिकै आइपुग्यो | उ पनि मामा भन्दै खित्का छोडेर हाँस्दै त्यस मानिसतिर लम्की | म भने त्यहाँबाट उम्कने उपायमा लागेको थिएँ | उ मामालाई लिएर म नजिकै आई र मलाई सुमन भनेर चिनाई |

पहाड भन्दा भारी हात उचालेर मैले ती मानिसलाई नमस्कार गरें | उबाट मुक्त हुने बाटो सहज छैन जस्तो लाग्न थाल्यो मलाई |
अझ सम्म मामा – भान्जी गफ गर्दै थिए | मैले चारै तिर नजर घुमाएँ | शहरको मध्ये भाग निकै नै उज्यालो थियो | लोडसेडिंगको कडा ज्वरोले भर्खर छोडेको थियो तुलसीपुरलाई | चारै तिर उज्यालो भए पनि बेलुकीको युवक साँझ बृद्ध रातमा बदलिन गैरहेको थियो |

मानिसहरुको उपस्थिति कम हुँदै गैरहेको थियो | उनीहरुले घरि घरि मतिर हेरे पनि आन्तरिक गफ मै मग्न थिए | बिपरित दिशाबाट एकहुल युवाहरु म नजिकै आइपुगे |

म पनि त्यहि हुलमा मिसिएँ |

परको घुम्तीमा पुगेर हेरें – उनीहरु गफमै मस्त थिए | मैले समस्याको डोरी चुडाएं र त्यहाँबाट आफुलाई मुक्त पारें | मलाई लाग्यो, मैले ठूलो पहाड फोडेर समतल मैदान बनाएँ |

म समस्या नै समस्याको जन्जालबाट मुक्त भएर त्यहाँबाट भागें | अझ भाग्दै रहें – भोकले आक्रान्त सिंहद्वारा लखेटिएको असहाय मृग झैं |