अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 04:41

विराटनगर पहिलो खेलमै पराजित

बिआरटीनेपाल २०७४ चैत १९ गते ९:५७ मा प्रकाशित

घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको दोस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)– २ को उपाधिको प्रमुख दाबेदार विराटनगर किङ्स आफ्नो पहिलो खेलमा नै पराजित भएको छ ।

राष्ट्रिय टिमका कप्तानसमेत रहेका पारस खड्काको नेतृत्वमा रहेको स्टार खेलाडीले भरिएको विराटनगर किङ्स महेन्द्रनगर युनाइटेडसँग ३३ रनले पराजित भएको हो । महेन्द्रनगरले दिएको १६९ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा सबै विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि पृथु बास्कोटाले ३५ र बाबार हायातले ३२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्न नसक्दा विराटनगर पहिलो खेलमा नै पराजित हुन पुग्यो । अनिलकुमार शाहले २३ रनमा आउट भए ।

कप्तान पारस खड्का १६ रन बनाएर पभेलियन फर्कँदा दिलिपनाथले १० रन जोडे । विराटनगरका लागि शीर्षस्थानका ब्याट्सम्यानले मध्यम खालको प्रदर्शन गरे पनि तल्लो क्रमका ब्याट्सम्यानले त्यसलाई निरन्तरता दिन सकेनन् । डीपीएलमा आशा गरिएका सौरभ खनाल, पवन सर्राफ र वसन्त रेग्मीले पहिलो खेलमा राम्रो प्रदर्शन गर्न सकेनन् । वसन्त रेग्मी गोल्डेन ढक आउट भए । विराटनगरलाई कम स्कोरमा समेट्न अभिनाष कर्णले ३ विकेट लिए । यस्तै, पुनित मेहरा, धुवन कार्की र रोविन क्षेत्रीले समान २–२ विकेट लिँदा हरिशंकर शाहले १ विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन रनको सम्मानजनक योगफल तयार पारेको थियो । महेन्द्रनगरका लागि तल्लो क्रमका पुनित मेहराले अविजित ३८ रनको योगदान दिएका थिए । १८ बलमा २ चौका र ३ छक्का प्रहार गरे । कप्तान तथा ओपनर विनोद भण्डारीले २९ बलमा ५ चौका र १ छक्कासहित ३५ रन जोडे । पुनित विष्टले २४, आरिफ शेखले २०, हरिशंकर शाहले १९ रन जोड्दा विराटनगर सम्मानजनक योगफलतर्फ पुगेको थियो । रोहितकुमार पौडे ९ रनमा नटआउट रहँदा आसिफ शेखले ९ रन जोडे । विराटनगरका मन्जित श्रेष्ठले २ विकेट लिए । पारस खड्का र शुभम कामतले समान १–१ विकेट लिए । अलराउन्डर प्रदर्शन गरेका महेन्द्रनगरका पुनित मेहरा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । 

आइतबारै भएको पहिलो खेलमा सीवाईसी अत्तरियाले सहज जित निकालेको छ । रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै अत्तरियाले विजयी सुरुवात गरेको हो । रुपेन्देहीले दिएको ६२ रनको झिनो लक्ष्य पछ्याएको अत्तरियाले ७ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा ग¥यो । चोटमुक्त भएर लामो समयपछि मैदान फर्किएका कप्तान सुवास खकुरेल र प्रेम तामाङले पहिलो विकेटका लागि २६ रनको साझेदारी गरे । प्रेम र गौरव चित्तकाराले दोस्रो विकेटका लागि ३९ रनको अविजित साझेदारी गर्दै टोलीलाई फराकिलो जित दिलाए । प्रेम १४ र गौरव ३० रनमा अविजित रहे । गौरवले १३ बलमा ३ छक्का र २ चौका प्रहार गरे । सुवासले १३ बलमा ४ चौकासहित १९ रन जोडे । रुपन्देहीका लागि १ मात्र विकेट जितेन्द्र मुखियाले लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले १५ ओभर २ बलमा सबै विकेट गुमाएर ६१ रन मात्र बनायो । रुपेन्देहीका सुफायन महेमुदले अविजित २० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । रुपेन्देहीको ब्याटिङलाइन अत्तरियाका कमलसिंह ऐरी र शुभंकर उरोवले ध्वस्त पारेका थिए । कमलले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । शुभंकरले २.२ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिए । अत्तरियाका कमल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार पाए । लिग अन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा टिम चौराहा धनगढी र सीवाईसी अत्तरिया तथा दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्सबीच खेल हुनेछ ।

राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्ले अफमा पुग्नेछन् । पहिलो र दोस्रो हुने टिमको विजेता क्वालिफायरमा पुग्नेछन् । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

लिगको विजेताले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता हुने टोलीले १० लाख प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले क्रमशः ३ लाख र २ लाख प्राप्त गर्नेछन् । ‘म्यान अफ दि सिरिज’ले एक थान टीभिएस अपाचे मोटरसाइकल प्राप्त गर्नेछ । यस्तै आयोजकले मोस्ट भ्यलुएबल खेलाडीलाई सुनका जुत्ता दिने निर्णय  पनि गरेको छ ।

प्रतिक्रिया