अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

पक्राउ परेका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न मानव अधिकार आयोगको आग्रह

बिआरटीनेपाल २०७४ चैत १९ गते ७:०९ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भनि पक्राउ गरिएका केहि ब्यक्तीहरुको अवस्था सार्वजनिक गर्न नेपाल सरकार र नेपाल प्रहरीलाई विशेष आग्रह गरेको छ । गत चैत्र १८ गते सुरज राई, रोशन ढकाल, लक्ष्मण कार्की, सुरेशकुमार राई र मोहन कार्कीलाई जिल्ला अदालत सुनसरीको प्रवेशद्वारबाट नेपाल प्रहरीले नियन्त्रणमा लिई अवस्था सार्वजनिक नगरेको भनी आयोगमा प्राप्त सूचनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको हो ।

आयोगले सोमबार सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ: आयोगलाई प्राप्त जानकारी अनुसार निजहरुलाई २०७४ चैत्र १८ गते बन्दीप्रत्यक्षीकरणको आदेशले सुनसरी जिल्ला अदालतबाट रिहा भए लगत्तै साँझ ६ः२० बजे नेपाल प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । यस सम्बन्धमा आयोगको टोलीले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायण चिमरियासँग बुझ्दा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको भनी जानकारी गराइए पनि सो सम्बन्धमा झापा जिल्ला प्रहरी प्रमुख विष्णुकुमार के.सी.ले उनीहरूलाई पक्राउ नगरेको भनी आयोगको टोलीलाई गराएको जानकारीबाट उनीहरूको अवस्था वेपत्ता रहेको बुझिएको छ । सो सम्बन्धमा लिखित जानकारी माग गरी आयोगको विराटनगर कार्यालयले आजै सम्बन्धित सुरक्षा निकायसँग पत्राचार समेत गरेको छ ।

अतः नेपालको संविधानले कुनैपनि व्यक्तिलाई प्रदान गरेको न्याय सम्बन्धी हकको प्रचलनमा अवरोध नगर्न, मौलिक हक प्रचलनको सुनिश्चितता सहित अदालतको आदेशको सम्मान गरी पक्राउ परेका व्यक्तिहरुको अवस्था अविलम्ब सार्वजनिक गर्न र आयोगलाई सोको जानकारी गराउन आयोग सम्बन्धित प्रहरी कार्यालयलाई आग्रह गर्दछ । साथै, व्यक्तिको मानव अधिकारको सम्मान र संरक्षणको सुनिश्चित्ताका लागि मातहतका निकायहरूलाई निर्देशन दिन नेपाल सरकार र नेपाल प्रहरीलाई विशेष आग्रह गर्दछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू