अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

सिन्धुलीका विभिन्न भागमा निर्माणाधीन तीन पक्की पुल निर्माण कार्य तीव्र गतिमा

बिआरटीनेपाल २०७४ चैत १८ गते २१:४८ मा प्रकाशित

सिन्धुली, सिन्धुलीका विभिन्न भागमा निर्माणाधीन तीन पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। हेटौंडा-सिन्धुली-उदयपुर-चतरा वैकल्पिक राजमार्गअन्तर्गत पर्ने सिन्धुलीको कमला, मरिण र रातु नदीका तीन पक्की पुलको निर्माण तीव्र गतिमा भएको हो।

एक अर्ब ११ करोड रुपैयाँ लागतमा निर्माणाधीन पुल सम्झौताअनुसारको समयभन्दा झन्डै डेढ वर्षअघि नै निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा निर्माण भइरहेको पुल निर्माण मा संलग्न रसुवा कस्ट्रक्सन कम्पनीका अध्यक्ष इन्जिनियर राजेन्द्र आचार्यले जानकारी दिनु भयो ।

२०७३ असार २९ गते कालीका-रसुवा-तुदी जेभी काठमाडौँले सडक विभाग पुल महाशाखा, पुल आयोजना पूर्वी क्षेत्र सेक्टर १ सँग सम्झौता गरी निर्माण थालिएका तीनै पक्की पुलको निर्माण ८० प्रतिशतसम्म सम्पन्न भइसकेको इन्जिनियर आचार्यले बताउनु भयो ।

‘४८ करोड रुपैयाँ कुल लागत रहेको कमला नदीअन्तर्गत जगाडीमा निर्माणाधीन पाँच सय मिटर लामो पक्की पुलको हालसम्म ७२ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। उक्त पुल आगामी असार मसान्तभित्र निर्माण सकिन्छ,’ उहाँले भन्नु भयो ।

यस्तै ४३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण थालिएको मरिण खोलाअन्तर्गत कपिलाकोटा कल्पवृक्षको पुलको निर्माण १४ महिनामै ८० प्रतिशत सम्पन्न भइसकेको छ। उक्त पुल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ मङ्सिर १२ गते शिलान्यास गरेपछि निर्माण थालिएको थियो। पुलको लम्बाइ चार सय मिटर छ।

२० करोड रुपैयाँ लागतमा निर्माण थालिएको दुई सय २५ मिटर लामो पुलको निर्माण हालसम्ममा ६०प्रतिशत सम्पन्न भएको छ’, आचार्यले भन्नु भयो यी तीनै पक्की पुलको निर्माण आगामी असार मसान्तभित्र सक्ने लक्ष्य रहेको आचार्यको भनाइ छ।

अन्य निर्माण कार्यमा ठेकेदारको लापरबाहीका कारण समयमा निर्माण सम्पन्न नहुने र लागत बढ्नुका साथै करोडौंका योजना वर्षौँदेखि अलपत्र अवस्था पर्ने गरेका घटनाहरू बाहिर आइरहेको अवस्थामा जिल्लाका तीन ठुला नदीमा निर्माणाधीन पुल भने सम्झौता अवधिभन्दा झन्डै १८ महिनाअघि नै निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ ।यी तीनवटै पुलको निर्माण आगामी २०७६ साल पुस २८ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ ।

इन्जिनियर आचार्यले आफूहरूले दिनरात नभनी पुल निर्माण कार्य गरिरहेको भए पनि सरकारले समयमा भुक्तानी दिन नसकेको गुनासोसमेत गर्नु भयो । ‘हामीले ४३ करोडमा ३० करोड रुपैयाँको काम सकिसकेका छौँ। तर पनि सरकारबाट भुक्तानी पाउन सकेका छैनौँ। निर्माण व्यवसाय क्षेत्रमा पनि उच्च व्यावसायिक संस्थाहरूको कमी छैन भन्ने कुरा निर्माण अवधि भन्दा १८ महिना अधीनै निर्माण सम्पन्न गरेर रसुवा कस्ट्रक्सन कंम्पनिले प्रमाणित गरिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू