अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

भारतसँग नयाँ सम्झौता नहुने, आर्थिक विकास भ्रमणको मुख्य कार्यसूची

बिआरटीनेपाल २०७४ चैत १८ गते २०:३४ मा प्रकाशित

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शुक्रवार हुने भारतको त्रिदिवसीय राजकीय भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारले स्पष्ट गरेको छ ।

भारतसँगको नेपालको सम्बन्धलाई अझ सुदृढ र सुमधुर तुल्याउन तथा पारस्परिक सम्बन्धका नयाँ आयाम एवं क्षेत्र पहिल्याउनमा नै प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने मन्त्रिपरिषद्का एक जना वरिष्ठ सदस्यले बताउनुभएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको आर्थिक विकासलाई भ्रमणको मुख्य कार्यसूची बनाएर प्रधानमन्त्री नयाँदिल्लीतर्फ प्रस्थान गर्न लाग्नुभएको बताउनुभयो ।

“नेपालको आर्थिक उन्नयन र समृद्धिमा नै प्रधानमन्त्रीज्यूको भारत भ्रमण केन्द्रित हुनेछ । भारतले सद्भाव प्रकटीकरणस्वरुप कुनै ‘उल्लेख्य घोषणा’ गर्नसक्नेछ,” उहाँले भन्नुभयो ।

नेपाल र भारतबिच विगतमा भएका सहमतिको कार्यान्वयनलाई पनि उत्तिकै महत्त्वका साथ भारतीय पक्षसँग उठाइने तथा आपसी सद्भाव वृद्धिलाई उच्च प्राथमिकता दिइने जानकारी परराष्ट्रमन्त्रीले दिनुभयो ।

“भारतसँग सम्बन्ध सुमधुर र सुदृढ बनाउने यो उपयुक्त अवसर हो,” नेपाल र भारतमा लामो समयपछि स्थिर एवं सबल सरकार बनेका र नीतिगत तहमा हुने निर्णय कार्यान्वयनको कसीमा रूपान्तरण गर्न सहज हुने सन्दर्भ जोड्दै उहाँले भन्नुभयो ।

एक पृथक् प्रसङ्गमा उहाँले नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकताअनुसार चीनसँग भएका सम्झौता कार्यान्वयनमा सरकार दृढ रहेको स्पष्ट गर्नुभयो । साथै, उहाँले नेपाली भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल सरकार अटल एवं दृढनिश्चयी छ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू