अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९ | Colorodo: 10:14

लालबाबुलाई सादर सुझाव

डा. दुर्गा दाहाल, “अनुभव” २०७४ चैत १८ गते १३:२० मा प्रकाशित

सर्वप्रथम, लालबाबुलाई लाल सलाम ठोकेँ ।

आज लालबाबुकै नाममा यो छोटो टिप्पणी लेखेँ र केही सुझाव दिन चाहेँ ।

वर्तमान म अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी स्याक्रोमेन्टोमा बसोबास गर्छु । उहाँको परिभाषामा म पनि संभवत भूतपूर्व नेपालीकै सूचीमा पर्दो हुँ । तर आज मेरो मानसपटलमा अभुतपूर्व अनुभूतिको महसुस भई रहेको छ ।

त्यसैले, कामरेड लाबाप लाई मेरो त्रिकोणात्मक दृष्टिकोणबाट हेर्ने प्रयास गरी रहेको छु ।

• पहिलो कोण: व्यक्तित्वको रूपमा
• दोस्रो कोण: विवेकको हैसियतमा र
• तेस्रो कोण: विचारको तराजुमा

* मलाई व्यक्तिगत रूपमा कामरेड मन पर्छ यद्यपि राजनैतिक सिद्धान्तको आधारमा हाम्रो गोत्र मिल्दैन । तर पनि, बेस (Best) लाग्छ । आदर गर्छु एक जना सहज, सरल, इमान्दार, आजीवन संघर्षशील, राष्ट्रभक्त राजनैतिककर्मीका नाताले ।
नियत सफ़ा देख्छु ।

* विवेकको हैसियतमा अहिले यता आएर उहाँको विवेकमा बिर्को लागेको देख्छु । अविवेकी पाराले विभिन्न किसिमका पीड़ादायी कथा- व्यथा र विवशता बोकेर विदेश गमन भएका नेपाली दाजु -भाइ र दिदी बहिनी हरूमाथि अनावश्यक रूपमा खनिएको देख्दा ।

* विचारको हकमा: विदेशमा आएर स्वहित र प्रकारान्तरमा स्वदेशकै हितमा दिन रात शारीरिक वा मानसिक परिश्रम गरेर इमान्दारीपूर्वक भ्रष्टाचार रहित काम गर्ने नेपाली स्वजन हरू माथिनै अपमानजन्य ढङ्गले आक्रामक शैलीमा सञ्चार माध्यम हरूमा प्रस्तुत भएको सुन्दा र देख्दा उहाँ अझै बच्चा र कच्चा भएको प्रतीत हुन्छ । अतः: शारीरिक रूपले बुढो देखिएता पनि मानसिक र बौद्धिक रूपमा अपरिपक्क पाएँ ।

• लालबाबुजीले बुझ्नु पर्यो:

यो एक्काईसौ शताब्दीको पनि उत्तरार्धमा रहेको ग्लोबल भिलेजको परिकल्पना गरिएको प्रतिस्पर्धात्मक युग हो ।

• एक पटकको नेपाली सधैँको नेपाली हुन्छ । तन विदेशमा भए पनि मन नेपालमै हुन्छ । उसको रग रगमा र पग पगमा नेपाली रगत सञ्चार भइरहेको हुन्छ ।
• कुनै पनि देश एक्लै बाँच्न सक्दैन ।
• देश भनेको भूगोल (माटो ) मात्रै हैन ; अपितु भावना ( मन ) पनि हो ।
• विदेश जानु भनेको वैयक्तिक स्वतन्त्रताको कुरा हो ।
• बढेका आफ्नै छोरा- छोरी पनि पँखेटा लागे पछि गुँड छोडेर उडछन ।
• घरदेश छोडेर परदेश/ विदेश जानु भनेको रहर मात्रै हैन; बाध्यता, विवशता र आवश्यकता पनि हो ।

• विदेश जानु भनेको भाग्नु, पलायन गर्नु,अथवा आत्महत्या गर्नु हैन । बरु आर्थिक समृद्धि, ज्ञान, विज्ञान, कला- कौशल, सीप र दक्षता हासिल गर्न केही समयका लागि बाहिरिएर पुन: प्रवेश गर्नु पनि हो । ( उदाहरण स्वरूप: रवीन्द्र मिश्र, सरोज खनाल, सुमन खरेल, महावीर पुन, रवि लामिछाने र अन्य धेरै धेरै छन् ।

कतिपय नफर्किए पनि देशको माया मन मुटु र मस्तिष्कमा राखेर नेपालमा घटित प्राकृतिक प्रकोप र आपत् – विपतमा यथाशक्य सहयोग गरेकै छन् । प्रशस्त मात्रामा रेमिट्यान्स पनि भित्रिएकै छ ।

• पी. आर (Permanent Resident ) र ग्रीनकार्ड ( हरियो पत्ता ) भनेको नागरिकता हैन, काम गर्ने अनुमति मात्रै हो । योग्यता पुग्दा पुग्दै पनि नेपालमा शान्ति र सुरक्षा स्थापित भएको खण्डमा नेपालनै फर्किने मन बनाएर धन समेत लिएर जाने सुरसारमा कैयौँ नेपालीहरू दिन गनेर बसेका छन् । कतिपयले बसुन्जेल कर तीरे बापत नागरिकता मार्फ़त अमेरिकाबाट पाउने सुविधा लिऊँ र पंछि त्यागेर नेपालनै फर्किउँला भनेर पनि बसेका छन् ।

अब कोही फर्केनननै भने पनि नेपाललाई केही बेफाईदा हुँदैन बरु कुनै न कुनै दिन, कुनै न कुनै किसिमले फाईदानै हुनेछ ।

• स्वदेशको माया र सम्झना विदेशिए पछि बढ़ी हुन्छ । संभवत, बाबुलाई यो अनुभूति छैन होला ।
भुक्तभोगी हरूलाई थाहा छ : विदेशिँदाको पीड़ा ।

• उपेन्द्र महतो अझै पनि नेपाली पासपोर्ट बोकेर हवाई यात्रा गर्छन् ।
• आजको नेपालीलाई निश्चित भूगोलमा बाँधेर राख्नु हुन्न । नेपाली नश्ल संसार भरि फिँजियोस । हाम्रा बाजे- बराजुले संसारै ढाक्नु भनेर दसैँमा टीका र हामीले देउसी भैलीमा आशिक लिन्थ्यौँ ।

• यो आदिम र जंगली युग हैन । वर्तमानको चन्द्र मङ्गलको आविष्कारमुखी तीव्रतर युगमा मानिसहरू नेपालमा मात्रै सीमित भएर बस्न चाहन्नन र हुन्न पनि । 

स्मरण रहोस्: नेपालको संविधान २०७२ को भाग २ को नागरिकताको बुँदा १४ मा ग़ैर आवासीय नेपालीलाई नागरिकता (राजनैतिक अधिकार बाहेक) प्रदान गरिने व्यवस्था छ । साथै, नेपाल सरकारले एन आर एन मा समेत सरकारी प्रतिनिधि छनौट गरी सकेको अवस्था र परिस्थितिमा सरकारका वहालवाला मन्त्री बाबुले संविधानको धर्म र मर्म विपरीत अस्थायी रूपमा विदेशिएका सबैलाई एउटै डोकोमा हालेर हचुवा पाराले ग़ैर ज़िम्मेवारपूर्ण अभिव्यक्ति दिनु सर्वथा अनुचित र अन्यायपूर्ण मात्रै नभएर निंदनीय पनि छ ।

बरु, लालबाबु हरूले संसार भरि नेपाली हरूले देखाएको उद्यमशीलता, वीरता, गतिशीलता र विदेशमा भएर पनि नेपालमा भएका हरेक सङ्कट र प्राकृतिक विपर्वय अनि राजनैतिक, सामाजिक, र सांस्कृतिक आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग जुटाई तन, मन, धन, कर्म र वचनले पुर्याएको उदाहरणीय र अनुकरणीय कार्यहरूको उच्च मूल्याङ्कन गर्दै सम्मान र आदर गर्न सक्ने फराकिलो विचार र स्वस्थ मानसिकता राख्न सक्नु पर्छ ।

लालबाबुले चियामा तुफान ( A storm in the tea cup ) ल्याउने धृष्टता गर्नु हुँदैछ जुन उहाँका लागि र समग्र नेपालकै लागि प्रत्युत्पादक हुनेछ ।सामान्य प्रशासन मन्त्री हुँदा प्रारम्भिक चरणमा उहाँले गर्नु भएको सकारात्मक कार्यहरूको हामी मुक्तकण्ठले प्रशंसा गर्छौँ तर सम्प्रति उहाँले व्यक्त गरेका अभिव्यक्ति हरू प्रति हाम्रो घोर आपत्ति, असन्तोष र अनादर छ ।

यसरी सत् विचार र उद्देश्यका निम्ति विदेश गएर स्वदेश फर्किने अथवा तन विदेशमा भए पनि मन नेपालमा हुने स्वाभिमानी नेपाली हरूलाई रोक्न खोज्नु सूर्यलाई हत्केलाले छेक्नु खोज्नु सरह हो ।

बरु, लालबाबु हरूले अब आफ्नो समय स्वदेशमै भएका परजीवी र भ्रष्टाचारी हरूलाई तह लगाई नयाँ शिराबाट विकास निर्माणको महायज्ञमा होमिनु पर्छ । स्वदेशी पुँजीको आधारशिला स्थापना गरी विदेश गएका हरूलाई नेपालमै आकर्षक र मनमोहक वातावरणको सृजना गरी स्वदेश फर्कन उत्प्रेरित गराउने कार्य गर्न सक्नु पर्छ ।

सुशासनको संयन्त्र बनोस् र व्याप्त अनियमितताको अन्त्य होस । सुस्त कर्मचारी तन्त्रलाई चुस्त, व्यस्त र दुरुस्त बनाई उपभोक्तामैत्री बनाउनुस् मंत्रीज्यू । हाम्रो एकमुष्ट साथ, सहयोग र समर्थन हुनेछ ।

अन्त्यमा,
बाबुलांई सत्बुद्धि आओस् भन्दै, चाँडैनै अमेरिका आउने निम्तो पनि दिएँ ताकि नेपालीहरूले कति दु:ख गरेका रैछन भन्ने कुराको पनि उहाँलाई बोध होस र विकाश निर्माणका गतिविधिहरू कसरी सञ्चालन हुँदा रहेछन् भन्ने कुराको पनि ज्ञान होस ।

अस्तु ।