अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

‘राइड टु सिन्धुलीगढी’ साइकल यात्रा यस बर्ष जनकपुरसम्म-यात्रीका लागि आवेदन खुल्ला

२०० साइकल यात्री सहभागी गराउने योजना

बिआरटीनेपाल २०७४ चैत १८ गते ७:३६ मा प्रकाशित

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु गरिएको साइकल यात्रा यस बर्ष सांस्कृतिक सहर जनकपुरधामसम्म विस्तार गरिने भएको छ ।  यस बर्ष विवाह पञ्चमीमा जनकपुरमा हुने महोत्सवमा सहभागी गराउने गरी साइकल यात्रीलाई लैजान लागिएको हो ।

जनकपुरधामसम्म हुने महोत्सवमा सानो पाइला, फ्याक्ट्स नेपाल, स्टोरी साइकल, कन्सेप्ट नेपाललगायतका संस्था सहआयोजकका रुपमा रहने छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउने छ । यात्राको नेतृत्व विश्वसाकल यात्री पुस्कर शाह र अर्का चर्चित यात्री देवेन्द्र बस्नेतले गर्नु हुनेछ ।

साइकल यात्रा २०७५ मंसिर २३, २४, २५ र २६ गते गरी चारको दिन हुनेछ । ‘साइकल यात्राले काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी र सांस्कृतिक सहर जनकपुरधामलाई जोडेर विश्वसामु परिचित गराउने हाम्रो उद्देश्य हो’, साइकल यात्राका संयोजक सौरभ ढकालले भने, ‘सिन्धुलीगढीसम्म हरेक बर्ष गरिँदै आएको साइकलयात्रालाई यस बर्ष दुई नम्बर प्रदेशको राजधानीसम्म पुर्याउन लागेका छौं ।

यात्रामा जान चाहनेहरुका लागि आवेदन फर्म खुल्ला गरिएको छ ।

अभियानले दुई बर्षदेखि सिन्धुलीगढीसम्म साइकलयात्रा गर्दै आएको छ । गत कात्तिक २४ मा भएको सिन्धुलीगढीको २५० औं विजयोत्सवका बेला काठमाडौंबाट १६० जनाभन्दा बढी ब्यवसायीक साइकल यात्रीलाई सिन्धुलीगढीहुुँदै सिन्धुलीमाढीसम्म लगेको थियो । यस बर्ष २ सय जना यात्रीलाई लैजाने अभियानको योजना छ ।

अभियानले ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको सम्झनामा हरेक बर्ष मनाइने विजयोत्सवमा साइकल यात्रीलाई सहभागी गराउँदै आएको थियो । यस बर्ष जनकपुरधामलाई समेत जोड्ने गरी बिवाह पञ्चमीका अबसरमा साइकल यात्रा गर्न लागिएको हो । पहाड र तराई बीचको सद्भाव विस्तार गर्न साइकल यात्राले सघाउने हाम्रो अपेक्षा छ, सहआयोजक फ्याक्ट्स नेपालका महाप्रबन्धक मनिष झाले भने, विवाह महोत्सवको सांस्कृतिक पक्षलाई विश्वसामु चिनाउन पनि यात्रा सहायकसिद्ध हुनेछ ।

सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुगेको अबसरमा गत बर्ष मनाइएको विजयोत्सवमा सहभागी हुन गएका साइकल यात्रीलाई काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गर्नु भएको थियो भने सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नु भएको थियो ।

‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई सहभागी गराउने योजना अनुरुप समृद्ध सिन्धुली अभियानले यस बर्ष जनकपुरधामलाई जोड्न खोजेको अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । ‘रमणीय वीपी राजमार्गहुँदै हुने साइकल यात्राको मनोरंजन लिन हामीले देशविदेशका साइकल यात्रीलाई हाम्रो आग्रह छ,’ उनले भने, ‘हरेक बर्ष हुने साइकल यात्रामा विदेशीलाई समेत सहभागी गराएर यस ऐतिहासिक स्थल सिन्धुलीगढी र सांस्कृतिक शहर जनकपुरको प्रबर्धन गर्ने हाम्रो योजना छ । उनले नागवेली सडक, सुनकोशी तिरैतिरको यात्राले साइकल यात्रीलाई छुट्टै रोमाञ्चक अनुभूति दिने बताए ।

एतिहासिक महत्व बोकेको सिन्धुलीगढी र धार्मिक महत्वको सहर जनकपुरलाई साइकलले जोड्ने प्रयास गरेका छौं, सहआयोजक सानो पाइलाकी परियोजना प्रबन्धक श्रुती झाले भनिन्, साइकल यात्राले पहाडदेखि तराईसम्मका समुदायलाई अझ नजिक ल्याउने हाम्रो विश्वास छ ।

काठमाडौंबाट झण्डै २ सय २५ किलोमिटर यात्रा साइकल यात्रीले तय गर्ने छन् । उनीहरुलाई पहिलो दिन सिन्धुलीको खुर्कोटमा राखिने छ । भोलिपल्ट उनीहरु सिन्धुलीमाढीमा हुने बृहद् सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ बास बसेर तेस्रो दिन साइकल यात्री जनकपुरमा विवाह पञ्चमीमा हुने रामजानकी विवाहोत्सवमा सहभागी गराइने छ । त्यसको भोलिपल्ट यात्रीलाई काठमाडौं फर्काउने योजना छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू