अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री के पी ओली

बिआरटीनेपाल २०७४ चैत १७ गते ८:५९ मा प्रकाशित

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वाम सरकारले अधिनायकवाद ल्याउँछ र प्रेस स्वतन्त्रता हनन गर्छ भन्नु हल्लामात्रै हो भन्नुभयो । “वाम सरकारले सञ्चारमाध्यमलाई अनुचित थिचोमिचो गर्छ भन्ने हल्लामात्रै हो, त्यसको पछि नलाग्न म आग्रह गर्छु, सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति लक्षित गर्दै जनतालाई बम, बारुद र चन्दा आतङ्क मच्चाएर जनतालाई दुःख नदिनसमेत आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले जनतामा राजनीतिकमात्र नभई सामाजिक र आर्थिक जागरण आवश्यक रहेको भन्दै त्यसका लागि अब सबैको व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभयो । सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने, जनतामा विकास निर्माणका योजना सञ्चालन गर्ने, आधुनिक प्रविधिको अवलम्बन गर्ने योजनामा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । 

“म छिट्टै भारत भ्रमणमा जाँदै छु, भ्रमणबाट नेपाल र भारतको सम्बन्ध अझै प्रगाढ र सुमधुर हुनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । भारत र चीन दुवैले नेपाललाई सहयोग गर्ने प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो । कार्यक्रममा रिपोर्टर्स क्लबले प्रधानमन्त्री ओलीलाई अभिनन्दन पनि गरेको थियो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान जारी भइसकेको सन्दर्भमा पार्टी एकतासँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले सबै नेपाली एकजुट भएर शान्ति, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नयाँ सरकार गठनका लागि जनताले साथ दिएको भन्दै अध्यक्ष प्रचण्डले अब जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकलाई अब आर्थिक समृद्धिको दिशामा अघि बढाउने गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भारत सधैँभरि नेपालको विकास र समृद्धिको पक्षमा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू