अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 16:02

अघिल्लो सरकारले ल्याएको स्वैच्छिक अवकाश प्याकेज खारेज

बिआरटीनेपाल २०७४ चैत १६ गते ८:५३ मा प्रकाशित

प्रदेश तथा स्थानीय तहमा समायोजनमा जान नचाहने निजमती कर्मचारीका लागि अघिल्लो सरकारले ल्याएको स्वैच्छिक अवकाश प्याकेजलाई वर्तमान सरकारले रोकेको छ । स्वैच्छिक अवकाश नीति अहिलेको समयमा ठीक नभएको, राज्यलाई अनावश्यक आर्थिक भार पर्ने र अहिले सरकारलाई नै कर्मचारी आवश्यक पर्ने भन्दै वर्तमान सरकारले स्वैच्छिक अवकाश प्रक्रियालाई रोकिदिएको हो । अघिल्लो सरकारको निर्णयअनुसार कार्यान्वयनमा जाँदा गत १३ चैतमा स्वैच्छिक अवकाश रोजेका कर्मचारीको अन्तिम नामावली प्रकाशन गर्नुपर्ने थियो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार १३ चैतमा स्वैच्छिक अवकाश रोजेका कर्मचारीको सूची सार्वजानिक गर्नुपर्नेमा वर्तमान सरकारले उक्त प्याकेजलाई अघि नबढाएर रद्द गरिदिएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अहिले सरकारलाई कर्मचारी आवश्यक रहेकाले स्वैच्छिक अवकाश रोकिएको बताए । राज्यले लगानी गरी दक्ष बनाएका कर्मचारीलाई काममा खटाउने बेला सात वर्षको  एकमुष्ट पेन्सन दिएर स्वैच्छिक अवकाश दिन नसकिने उहाको भनाई छ।

अघिल्लो सरकारले स्वैच्छिक अवकाशमा जाने कर्मचारीका लागि १३ फागुनसम्मको आवेदनको समय दिएको थियो । सो अवधिमा पाँच जना सचिवसहित ९ हजार ६५६ कर्मचारीले स्वैच्छिक अवकाश रोजेका थिए । उनीहरूको निवेदन रुजु गरी कम्प्युटरमा इन्ट्रीसमेत सम्पन्न भएको अवस्थामा मन्त्री पण्डितको निर्देशनमा रोकिएको हो ।

अघिल्लो सरकारले २० वर्ष सेवाअवधि र ५० वर्ष उमेर पूरा भएका कर्मचारीलाई ग्रेडसमेत थप गरी एकमुष्ठ सात वर्षको पेन्सनसहित स्वैच्छिक अवकाश दिने नीति लिएकोमा वर्तमान सरकारले अवकाश रोक्दै अब उनीहरूलाई समेत स्थानीय तहमा समयोजन गर्ने नीति लिएको छ । सरकारले अनिवार्य अवकाश पाउन लागेका र राम्रो योगदान नगरेका कर्मचारीलाई अब प्याकेजबिनै बिदा गर्ने तयारी गरेको छ ।

सरकारले कर्मचारीको योगदान हेरेर सक्षम कर्मचारीलाई काम गर्न आग्रह गर्ने र अशक्त एवं समस्यामा परेका कर्मचारीलाई भने प्याकेजसहित बिदा गर्ने तयारीसमेत गरिरहेको मन्त्रालय स्रोत बताउँछ ।

ऐनमा २० वर्ष सेवाअवधि र ५० वर्ष उमेर पूरा भएका कर्मचारीका लागि ग्रेडसमेत थपेर सात वर्षको पेन्सन एकैपटक दिई अवकाश दिने व्यवस्था थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू