अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

नेपाल पत्रकार महासङ्घको स्थापना दिवस– नौ पूर्वसभापतिको सम्मान

बिआरटीनेपाल २०७४ चैत १६ गते ८:३४ मा प्रकाशित

काठमाडौँ,  नेपाल पत्रकार महासङ्घको ६३ औँ स्थापना दिवसका अवसरमा नौजना पूर्वसभापतिलाई आज सम्मान गरेको छ । सञ्चारग्रामस्थित महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सभामुख कृष्णबहादुर महराले उहाँहरूलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेहरुमा महासङ्घका पूर्वसभापतिहरु होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठूरी, शिव गाउँले र डा महेन्द्र विष्ट हुनुहुन्छ ।मुलुकमा स्वतन्त्र प्रेसको रक्षा र लोकतन्त्रको पक्षमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत महासङ्घले उहाँहरूलाई सम्मान गरेको हो । सो अवसरमा सभामुख महराले निरङ्कुशविरुद्ध र लोकतन्त्रको पक्षमा पत्रकार महासङ्घले खेलेको भूमिका सबैका सामुन्ने जगजाहेर रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पत्रकारिता जगत् समाजको ऐनाको भूमिका खेल्दै आएको छ, समाज रूपान्तरणमा सञ्चार क्षेत्रको ठुलो योगदान रहेको छ, मुलुकमा प्राप्त उपब्धिलाई ठिक ढङ्गले उपयोग गर्न र सही दिशातर्फ उन्मुख गराएर समृद्धिसँग जोड्ने कामको दायित्व पत्रकारिता क्षेत्रले लिनुपर्छ ।

सभामुख महराले नेपाली पत्रकारिता क्षेत्रको गौरवमय इतिहास, विश्वसनीयता र मर्यादालाई बचाइराख्न महासङ्घले ध्यान दिनु पर्ने उहाँको भनाई थियो । पूर्वसभापति हरिहर विरहीले नेपाली प्रेस जगत्ले निर्धक्क भएर काम गर्न सक्ने अवस्था अझै नरहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रको विश्वसनीयता र गुणस्तर विकासमा महासङ्घ अझै सक्रिय भएर लाग्न आवश्यक रहेको बताउनुभयो । 

सूचना विभागका महानिर्देशक वीरबहादुर राईले पत्रकारिता क्षेत्रले राम्रा कामलाई प्रवर्द्धन र नराम्रा कामलाई निरुत्साहन गर्दै देश र जनताको हितमा काम गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
महासङ्घका सभापति गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा चुनौतीको पहाड नै रहे पनि अग्रजले गौरवपूर्ण ढङ्गबाट राखेको साझा चरित्र, गरिमालाई बचाइराख्ने प्रतिबद्धता जनाउनुभयो । वि सं २०१२ साल चैत १६ गते  कृष्ण प्रसाद भट्टराईको अध्यक्षामा स्थापित भएको पत्रकार महासङ्घले घोषित आदर्शप्रति अविचलित रही ६३ औँ वसन्त पार गरिसकेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले आधा शताब्दीभन्दा बढी समयदेखि समाजको अग्रणी साझा संस्थाका रूपमा सशक्त भूमिका निर्वाह गर्दै आएको महासङ्घले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू