अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६ | Colorodo: 21:01

पर्यटनमन्त्रीले सार्वजनिक गरे सय दिनको कार्ययोजना

बिआरटीनेपाल २०७४ चैत १६ गते ८:११ मा प्रकाशित

काठमाडौँ,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० दिनको अवधिमा सम्पादन गरिने प्रमुख कामको प्रतिबद्धतासहित सार्वजनिक गरेको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी १०० दिनमा गर्ने १६ क्षेत्रमा ११० वटा काम सार्वजनिक गरेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारदेखि मन्त्रालयअन्तर्गत पर्ने राष्ट्रिय गौरवका पाँच आयोजनालाई १०० दिने प्रमुख कार्यमा राखिएको छ । त्यसै गरी, भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरूको पुनःनिर्माण, पर्यटन क्षेत्रको नीतिगत तथा कानुनी सुधार, कार्यपद्धतिमा सुधार रहेको छ ।

संस्कृति क्षेत्रतर्फ संस्कृति संरक्षण र प्रवर्द्धन, ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्त्वका सम्पदाको संरक्षण तथा अभिलेखको डिजिटाइजेसन र सुदृढीकरण, सङ्ग्रहालयको निर्माण तथा व्यवस्थापन १०० दिनभित्र गरिनेछ ।

यस्तै, पर्यटकीय तथ्याङ्क अद्यावधिक कार्य, दिगो पर्यटन व्यवस्थापन, पर्यटकीय सेवा सुविधाको गुणस्तरीयता, एकीकृत पर्यटन पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, हवाई उड्डयन सुरक्षा सुदृढीकरण र हवाई उद्योग व्यवस्थापन प्रमुख प्राथमिकतामा परेका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयका उच्च अधिकारी मातहत निकायका प्रमुखको उपस्थितिमा आज १६ बुँदे कार्ययोजना सार्वजनिक गर्दै ती प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरिने बताउनुभयो । प्रमुख कार्ययोजना आफ्नो लहड र इच्छाले ल्याएको नभई मन्त्रालय र मातहतका निकायको साझेदारितासहितको प्रतिबद्धता रहेकाले सफल कार्यान्वयन हुने मन्त्री अधिकारीको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू