अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

ढल्केबर–मुजफ्फरपुरबाट विद्युत् आयातका लागि पीपीएमा हस्ताक्षर

बिआरटीनेपाल २०७४ चैत १५ गते १०:५३ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको नयाँ विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । भारतको नयाँ दिल्लीमा सोमबार, मङ्गलवार र बुधवार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र भारतीय पक्षबिच यही अप्रिल सन् २०१८बाट लागू हुने गरी १५ महिनाको पीपीए भएको हो । अब पीपीएको म्याद जुन २०१९सम्म रहने छ । गत २७ डिसेम्बर २०१७ मा नविकरण भएको पीपीएको म्याद यही १७ चैत (३१ मार्च)मा सकिंदैछ । 

पीपीएमा कार्यकारी निर्देशक घिसिङ र एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)का प्रमुख कार्यकारी अधिकृत अरुण कुमार गर्गले बुधवार नयाँ दिल्लीमा हस्ताक्षर गर्नु भएको हो । प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले पीपीए हस्ताक्षरपछि ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत १२० मेगावाट विद्युत् आयात सुनिश्चित भएको बताउनु भयो । उहाँले भन्नु भयो,‘हामीले अहिले दिइरहेको दरमा विद्युत् दिन वार्तामा अडान राख्यौँ, भारतीय बजारमा विद्युत्को मूल्य बढेकाले अहिलेको मूल्यमा विद्युत् दिनै नसकिने भारतीयपक्षको अडान राखेपछि ६ महिनाका लागि प्रति युनिट मूल्य ३.९८ भारतीय रुपैयाँ (६.३६ रुपैयाँ र त्यसपछि बाँकी अवधिका लागि उक्त मूल्यमा पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ ।’

अहिले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत आयात भइरहेको विद्युत्को मूल्य प्रति युनिट ३.६० छ । प्राधिकरणले एनभीभीएसँग सुरुमा प्रति युनिट भारु ३.४४ (५.५० नेरु)मा पीपीए गरेको थियो । भारतीय बजारमा विद्युत् मूल्य वृद्धि भएपछि बढेर प्रति युनिट भारु ३.६० पुगेको थियो ।

नेपाल–भारत सचिवस्तरीय विद्युत् व्यापार संयन्त्रको बैठकको निर्णयअनुसार प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत विद्युत् आयात गरिरहेको छ । भारत सरकारले एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)लाई नोडल एजेन्सी तोकेको छ । प्राधिकरणले एनभीभीएनसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरी विद्युत् आयात गरिरहेको हो । एनभीभीएले भारतीय सर्वोच्च अदालतले वातावरण प्रदूषण कम गर्न न्यूनस्तरको इन्धन पेट्रोलीयम कोक (पेट कोक) र फर्नेस आयलमा प्रतिबन्ध लगाउँदा त्यसबाट विद्युत् उत्पादन गर्ने प्लान्टहरु बन्द भएको, पेटकोकबाट कोइला प्रतिस्थापित हुँदा विद्युत् उत्पादनमा प्रयोग हुने इन्धनको मूल्य २४देखि ३५ प्रतिशत बढी पर्ने, भारतको विद्युत् एक्सचेन्ज बजारमा विद्युत्को मूल्य महँगो रहेको लगायतका कारण देखाउँदै प्राधिकरणले माग गरेको परिमाणअनुसार विद्युत् दिन सकिरहेको थिएन ।

एनभीभीए त्यही कारण देखाउँदै विद्युत्को मूल्य नबढाई ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट प्रति युनिट भारु ३.६० मा विद्युत् दिन नसकिने बताउँदै आएको थियो । भारतको विद्युत् एक्सचेन्जको औसत ‘मार्केट क्लियरिङ प्राइस’ प्रति युनिट भारु ४.१९ (६.७० नेरु) छ । भारतले बङ्गलादेशलाई १५ वर्षका लागि प्रतिश्पर्धात्मक बोलपत्रमार्फत पाँच सय मेगावाट विद्युत् निर्यातका लागि प्रति युनिट ७.७ अमेरिकी सेन्ट पीपीए दर तय गरेको छ । भारत सरकारको डिप पोर्टलमार्फत अल्पकालीन बोलपत्र गर्दा निर्धारण भएको विद्युत्को मूल्य प्रति युनिट ४.२८ देखि ८ भारुसम्म पुगेको पाइएको छ ।

प्राधिकरणले व्यापारिकरुपमा, विद्युत् आदान प्रदान सम्झौता (पावर एक्सेन्ज) र महाकाली सन्धि अन्तर्गतको बिजुली भारतबाट ल्याइरहेको छ । व्यापारिकरुपमा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सेन्ज अन्तर्गत भारतबाट बिजुली ल्याइरहेको छ ।

दुई मुलुकबिचको पावर एक्सचेन्च कमिटी (पिइसि)ले तय गरेको मूल्यका आधारमा प्राधिकरणले विहार, उत्तरप्रदेश र उत्तराखण्डबाट विद्युत् आयात गर्छ । ती विन्दुबाट १३२, ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गर्ने विद्युत्को प्रतियुनिट मूल्य भारतीय रुपैयाँ क्रमशः ः५.५५(८.८८ नेरु),६ (९.६ नेरु) र ६.४५ (१०.३२ नेरु) छ । यो मूल्यभन्दा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत विद्युत् आयातलाई गरिएको पीपीए दरभन्दा सस्तो छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू