अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

नेपाल रेडक्रस सोसाइटी र ‘आईसीआरसी’विच सहयोग सम्झौता 

बिआरटीनेपाल २०७४ चैत १४ गते ९:२३ मा प्रकाशित

नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तराष्ट्रिय समिति (आईसीआरसी) विच सन् २०१८ मा सञ्चालन हुने गतिविधि सम्बन्धी सहयोग सम्झौता आज रेडक्रस केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।

सहयोग सम्झौतामा नेपाल रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देवरत्न धाख्वा र रेडक्रसको अन्तराष्ट्रि समिति (आईसीआरसी) का तर्फबाट समितिका नेपाल प्रमुख आन्द्रे पाकेटले हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री हरिप्रसाद न्यौपाने, कामु कार्यकारी निर्देशक इन्द्र वहादुर के.सी. लगाएत विभिन्न विभागका प्रमुखहरु, आइसीआरसीका सञ्चार प्रमुख कृष्णचन्द्र चालिसे र कोअपरेशन प्रमुख प्रमेश पौडेलको उपस्थिती रहेको थियो ।

सम्झौता पत्र अनुसार नेपाल रेडक्रस सोसाइटीलाई आईसीआरसीले अन्तराष्ट्रिय सम्मेलनको भावना र मर्मअनुसार रेडक्रसका आधारभूत सिद्धान्तहरु, पारिवारीक सम्पर्कको पुर्नस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धि जस्ता गतिविधिहरुको लागि करीव ९० लाख रुपैया उपलब्ध गराउने भएको नेरेसोका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै आईसीआरसीका नेपाल प्रमुख आन्द्रे पाकेटले आईसीआरसीको नेपाल भित्र फिल्ड कार्यालय नभएको अवस्थामा पनि नेपाल रेडक्रस सोसाइटी र अन्तराष्ट्रिय महासंघको सहयोगमा विशेष कार्यदलले काम गरिरहेको बताउँदै रेडक्रस अभियानका सेवा प्रदान गर्न सदातत्पर रहेको बताउनुभयो ।

हस्ताक्षर कार्यक्रममा सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले मुलुक परिवर्तनतर्फ लम्किरहेको अवस्थामा पारिवारिक सम्पर्कको पुनस्थापना र संगठनात्मक आधार सुदृढीकरणमा क्षमता अभिवृद्धिको लागि सहयोग सम्झौता महत्वपूर्ण रहेको बताउनुभयो ।

दशवर्षे सशस्त्र द्वन्द्वको समयदेखि नेपालमा आईसीआरसीको कार्यालय स्थापना भई संरक्षण र सहयोगको क्षेत्रमा कार्यरत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू