अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१८ | Colorodo: 15:33

प्राधिकरणले भूकम्पग्रस्त घरहरुको प्रबलीकरणका लागि विशेष अभियान संचालन गर्दै

प्रबलीकरण गर्नुपर्ने घरको संख्या (जिल्लागत)

बिआरटीनेपाल २०७४ चैत १३ गते ५:५६ मा प्रकाशित
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घरहरुको प्रबलीकरणका लागि बिशेष अभियान संचालन गर्ने भएको छ । पुनर्निर्माणमा उल्लेख्य प्रगति भइरहे पनि प्रबलीकरणमा खासै प्रगति हुन नसकेको निश्कर्ष निकाल्दै प्राधिकरणले सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधी बनाउने अभियान संचालन गर्ने निर्णय गरेको हो ।
हालसम्म भूकम्प प्रभावित ३२ जिल्लाका २४ हजार ९ सय ९१ निजी घरहरु प्रबलीकरण गर्ने सूचीमा छन् । प्रबलीकरणलाई अगाडि बढाउन विकास साझेदार संस्थाहरु डीएफआईडी, यूएनओपिएस तथा बिल्ड चेञ्जले प्राधिकरणलाई सहयोग गर्ने भएका छन् ।
यी तीन संस्थाबीच आगामी २ बर्षभित्र २ हजार प्राविधिक कर्मचारी र १२ हजार डकर्मीलाई प्रबलीकरणको तालिम दिने सहमति बनेको छ । तालिमका क्रममा १ हजार भूकम्प प्रभावितको क्षतिग्रस्त घर प्रबलीकरण हुनेछ । त्यस्ता तालिमका क्रममा स्थानीय सरकारको सिफारिसमा जोखिमयुक्त वर्गमा परेका लाभग्राहीका घरहरु समेत प्रबलीकरण गरिने छन् ।
यूएनओपिएसले प्रबलीकरण सम्बन्धी आयोजना प्रस्ताव अध्ययन गरी प्राधिकरणमा पेश गरिसकेको छ । प्राधिकरणको आवास, वस्ती विकास तथा स्थानीय पूर्वाधार महाशाखाले उक्त प्रस्ताव अध्ययन गरी त्यसलाई अन्तिम रुप दिई एक हप्ताभित्र शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई कार्यान्वयनको जिम्मा दिने छ ।
प्रबलीकरणलाई अघि बढाउन हाल प्राधिकरण, शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, यूएनओपिएस, डीएफआईडी, तथा बिल्ड चेञ्जका अधिकारीहरुले प्रबलीकरणको पाठयक्रम निर्माण गरिरहेका छन् । यसलाई चैत्र तेश्रो साताभित्रै अन्तिम रुप दिने तयारी भएको प्राधिकरणका सहसचिव प्रकाश थापाले जानकारी दिनु भयो ।
पाठ्यक्रम निर्माण भएपछि २०७५ वैशाख पहिलो सातादेखि एकसाथ ४ स्थानमा प्राविधिक कर्मचारीहरुलाई प्रबलीकरण तालिम सञ्चालन गर्ने प्राधिकरणको तयारी छ । डकर्मीको तालिम पनि साथसाथै आयोजना गर्ने प्राधिकरणको योजना छ ।
प्रबलीकरण कार्यको शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइले समन्वय र अनुगमन गर्नेछ ।
 
प्रबलीकरण गर्नुपर्ने घरको संख्या (जिल्लागत)
१) सिन्धुपाल्चोक – ३७६
२) काभ्रेपलाञ्चोक – २,४१५
३) दोलखा – ६३७
४) रामेछाप – २,१४९
५) गोरखा – २,०१९
६) धादिङ – १,४९४
७) नुवाकोट – ९३६
८) रसुवा – ११७
९) ललितपुर – ६६७
१०) ओखलढुंगा – १,६४३
११) सिन्धुली – २,४०८
१२) मकवानपुर – ४,१५२
१३) काठमाडौं – ५७५
१४) भक्तपुर – २७८
१५) लमजुङ – ५३९
१६) सोलुखुम्बु – ४५६
१७) खोटाङ – २५३
१८) स्याङ्जा – ५६७
१९) चितवन – ५९३
२०) तनहुँ – ४६६
२१) पाल्पा – ३८४
२२) बागलुङ – ८२
२३) गुल्मी – १९५
२४) कास्की – २४२
२५) पर्वत – ४१७
२६) म्याग्दी – ७
२७) अर्घाखाँची – ६७
२८) नवलपरासी – ८
२९) धनकुटा – ७०
३०) भोजपुर – ४५३
३१) संखुवासभा – ३२६
 
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू