अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

फिल्म शत्रु गते हेर्न पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि हलमा

प्रदिप कार्की, काठमाडौँ २०७४ चैत १२ गते १२:५७ मा प्रकाशित

गत शुक्रवार देखि प्रदर्शनरत फिल्म शत्रु गतेले व्यापार मात्र राम्रो गरिरहेको छैन, वर्ड अफ माउथ पनि राम्रै पाइरहेको छ । फिल्म हेर्न पुगेका अधिकांशले यसलाई रुचाएका छन् । प्रदर्शनको तिन दिनमै ३ करोड २७ लाख बराबरको कारोबार गर्न सफल भएको फिल्मलाई पछिल्लो समय हेर्ने चाहना दर्शकसँगै फिल्मकर्मी र राजनीतिज्ञमा पनि बढ्दो छ । 

प्रदर्शनको चौथो दिन फिल्म हेर्न नेकपा एमालेका पूर्व अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल पुगेका छन् । राजधानीको बागबजारमा रहेको सिटी म्याक्स हलमा उनी सहित भीम रावल, देबेन्द्र पौडेल, ठाकुर गैरे, जीवन राम श्रेष्ठ पुगेका थिए । पूर्व प्रधानमन्त्री खनालले फिल्म हेर्ने इच्छा व्यक्त गरेपछि उनको सचिवालयले हलमा विशेष सोको आयोजना गरेको थियो । खनाल सहित अन्य शीर्षस्थ नेताको टोली फिल्म हेर्न पुगेको थाहा पाएपछि फिल्म ’शत्रु गते’ युनिट हलमा पुगेको थियो । हरिवंश आचार्य, किरण केसी, दीपक राज गिरी, दीपाश्री निरौला र प्रदीप भट्टराई हल पुगेका थिए । 

अधिकांश राजनीतिज्ञ आफ्नो परिवार सहित फिल्म हेर्न आएका थिए । यसै गरी सोमबार नै सदाबहार नायक भुवन केसी र उनको ब्यानरमा बन्ने फिल्म ’क्याप्टेन’ का निर्देशक दिवाकर भट्टराईले पनि फिल्म हेरेका छन् । कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा भुवन र दिवाकरले फिल्म हेरेका हुन् । सोमबार नै फिल्म ‘राम कहानी’ युनिटले पनि फिल्म हेरेका छन् । निर्देशक सुदर्शन थापा सहित कलाकारहरू आकाश श्रेष्ठ, केदार घिमिरे माग्ने बुढा र पूजा शर्मा फिल्म हेर्न पुगेका थिए । 

फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् । यसमा छायाङ्कन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । 

झलनाथ खनाल: फिल्म निकै रमाइलो बनेको छ । हाँसोले भरिएको छ भने हर चिजलाई हाँसोमा टुंग्याईएको छ । फिल्म आधुनिक छ । हँसाउन सफल छ । फिल्मको चर्चा सुनेर आएको थिए, आफ्नो समय खेर फाले जस्तो लागेन । फिल्म मन परेकैले सम्पूर्ण समय बसेर फिल्म हेरे । फिल्मले मनोरंजनसंगै सन्देश पनि दिन्छ । मह जोडीको काम उत्कृष्ट छ । 

भीम रावल: फिल्म रमाइलो बनेको छ । हामीले आफ्नो समय छुट्याएर आएका थियौ , त्यो खेर गएन । मह जोडीको काम तारिफ योग्य छ , फिल्म राम्रो र रमाइलो बनेको छ । 

भुवन केसी: फिल्म राम्रो बनेको छ । सबैको काम राम्रो छ । नयाँ पुस्तासँग पनि हरिवंश आचार्य फिट देखिएका छन् । निर्देशकले कलाकारको जम्बो टोलीलाई राम्रोसँग फिल्ममा देखाएको छ । फिल्म रमाइलो छ । समय र पैसाको सदुपयोग हुन्छ । 

तस्बिर: आर्यन बिमलीे

 

सम्बन्धित सामग्रीहरू