अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४८ | Colorodo: 04:03

विदेश नीति सन्तुलित रहने – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७४ चैत १२ गते ९:२३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रताको नीतिमा अगाडि बढेको नेपालको विदेश नीति सन्तुलित रहने बताउनुभएको छ । प्रधानमन्त्रीको  निवास बालुवाटारमा आज ‘नेपाल–चीन सम्बन्ध’ शीर्षक पुस्तकको लोकार्पणपछि प्रधानमन्त्री ओलीले सबै मित्र राष्ट्रसँगको सम्बन्ध समानताका आधारमा रहने बताउनु भयो। 

प्रधानमन्त्री ओलीले छिमेकसँगको मित्रतालाई नेपालले अत्यन्त महत्त्व दिने स्पष्ट पार्दै दुई छिमेकीसँगको मित्रतालाई खँदिलो र भरिला बनाउँदै लैजाने बताउनुभयो ।

नेपालमा भएको परिवर्तन र शान्तिलाई दख्खल दिने विषयमा सह्य नभएको बताउँदै उहाँले भन्नुभयो,“ सामाजिक सम्बन्धलाई खलबल्याउने प्रयास सैह्य छैन ।” प्रधानमन्त्री ओलीले विश्वमै कायम रहेको असमानता तत्काल अन्त्य नभए पनि न्यूनीकरणमा पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै भेदभाव भने अन्त्य गरेरै छाड्ने बताउनुभयो ।

पछिल्ला दिनमा नेपालमा लगानीको वातावरण बन्दै गएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी लगानीमैत्री छौंँ, लगानीका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार छौंँ ।” अर्को प्रसङ्गमा उहाँले वाम पार्टीबिचको एकता देशको परिवर्तन र समृद्धिसँग जोडिएको बताउँदै भन्नुभयो,“ वाम एकता राष्ट्रिय एकतासँग जोडिएको विषय हो, नेपालको यस परिवर्तनलाई विश्वले खुसीसाथ गृहण गरेको छ, स्वीकारेको छ ।”

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित रूपमा विस्तार गर्दै लैजाने विश्वास दिलाउनुभयो । उहाँले चीन नेपालमा लगानी ल्याउने ठुलो राष्ट्र भएको उल्लेख गर्दै आगामी दिनमा दुई देशबिचको सम्बन्ध नयाँ उचाइमा पुग्ने बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल–चीन सम्बन्ध प्रगाढ रहेको र चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको बताउँदै आगामी दिनमा सरकार एवं जनतासँगको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन–नेपाल सम्बन्धलाई विस्तार गर्दै सहकार्य अगाडि बढाउनका लागि बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई) नयाँ अवसर भएको बताउननुभयो । नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र इन्टरनेशनल कन्सर्न सेन्टरका अध्यक्ष एवं विमोचित पुस्तकका सम्पादक डा अञ्जान शाक्यले नेपाल–चीनबिचको सम्बन्धलाई विविध क्षेत्रबाट हेरिनुपर्नेमा जोड दिनुभयो ।

पुस्तकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री कोइरालासहित छ पूर्वराजदूतलगायतका परराष्ट्रसम्बन्धी २५ लेख समाविष्ट छन् । इन्टरनेसनल कन्सर्न सेन्टरले प्रकाशनमा ल्याएको ३७२ पृष्ठको पुस्तकको मूल्य रु एक हजार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू