अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

माइतीघर मण्डलामा विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

बिआरटीनेपाल २०७४ चैत ११ गते ९:४९ मा प्रकाशित

काठमाडौँ, आज माइतीघर मण्डलामा विभिन्न धर्मावलम्बीले गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बङ्गला विमान दुर्घटनामा परी निधन भएका व्यक्तिको सम्झनामा दीप प्रज्वलन गरेका छन् ।

चारुमती बौद्ध विहारले आयोजना गरेको कार्यक्रममा हिन्दु, बौद्ध, शिख, किराँत धर्मावलम्बीका साथै मृतकका आफन्त उक्त स्थानमा गरिएको श्रद्धाञ्जलिसभामा सहभागी भएका छन् । वटुकले वैदिक मन्त्रोचारण गरेपछि औपचारिक रूपमा कार्यक्रमको सुरुवात गरिएको थियो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समितिले काम गरिरहेको बताउँदै प्रतिवेदन आएपछि हवाई सुरक्षालाई विशेष सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विहारका प्रमुख भिक्षु तपस्सी धम्मले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारप्रति समवेदना प्रकट गर्दै घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

कार्यक्रमका संयोजक राज्यलक्ष्मी शाक्यले सो घटनामा परी देशको विभिन्न क्षेत्रका दक्ष जनशक्ति, होनाहार तथा प्रतिभाशाली मानिसको मृत्यु भएकामा दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

घटनामा परेर मृत्यु भएकी एन्जला बरालका अभिभावकले उक्त दुर्घटनाका कारण देशको अपूरणीय क्षति भएको बताउँदै आफन्तको सम्झनामा गरिएको सो कार्यक्रमले केही राहतको अनुभव भएको र उनीहरूको चिरस्मरणका लागि सरकारलाई केही योजना ल्याउन आग्रह गर्नुभयो ।

उक्त दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । दुर्घटनाका २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बङ्गलादेशबाट चिकित्सा शास्त्रसम्बन्धी अध्ययन सकेर फर्केका १३ विद्यार्थीले सोही दुर्घटनामा परी ज्यान गुमाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू