अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 23:06

गरिब छ भनेर नेपाललाई नहेप भन्दै यूरोपियन यूनियनलाई प्रम ओलीको चेतावनी

बिआरटीनेपाल २०७४ चैत ११ गते ९:१० मा प्रकाशित

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनाव पर्यवेक्षणको मूल प्रतिवेदन लोकार्पण गर्दै आइतबार प्रधानमन्त्री ओलीले ईयूलाई चेतावनी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले इयूले चुनावको पर्यवेक्षणका क्रममा तयार पारेको प्रतिवेदन तत्काल सच्याउन आग्रह गर्नुभएको छ । ‘ईयूका नाममा आएको प्रतिवेदन सच्याउन सरकारले आग्रह गरेको तर उसले झन जिद्धी गरे जस्तो छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म फेरि आग्रह गर्न चाहन्छु, यो प्रतिवेदनमा पुनर्विचार गर्नुहोस् ।’ प्रतिवेदनले नेपाललाई हेप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले पर्यवेक्षणका नाममा आएका केही ‘धर्म प्रचारक’ पर्यवेक्षकलाई नेपालले फिर्ता पाठएको प्रतिशोध पर्यवेक्षण प्रतिवेदनमा साँध्नु उपयुक्त नहुने बताउनुभएको छ ।

नेपालको लोकतन्त्रप्रतिको निष्ठामा कसैले आशंका नगर्न प्रधानमन्त्री ओलीले सम्झाउनु भएको छ । ‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठा अरुभन्दा कम छैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हामीलाई लोकतन्त्र र समावेशीताको पाठ सिकाउनेहरुले नेपालमा भन्दा १/२ प्रतिशत कम भए पनि नीति निर्माण तहमा महिलाको संख्या देखाउन सक्छन् ?’

प्रधानमन्त्री ओलीले गरिब छन् भनेर नेपालीलाई हेप्न र जे गरे पनि हुन्छ मानसिकता त्याग्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । ‘नेपालमा मतदाता सचेत छन् । ८० प्रतिशत मतदाताले लोकतन्त्रप्रतिको निष्ठा देखाउँदै मतदान गरे’, प्रधानमन्त्री ओलीले भन्नुभयो ‘केही मत बदर भयो । तर मतदानमा सहभागी हुनु भनेको आम जनताले लोकतन्त्रप्रति गरेको सम्मान हो । ’

निर्वाचन आयोगलाई  सशक्तिकरण  गर्न आवश्यक भएको प्रधानमन्त्री ओलीको भनाई छ । आयोगको विश्वसनीयता बढाउन निष्पक्ष भूमिकामा पनि जोड दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कसैको दबाबमा परेर आयोगले निर्वाचनको दौरानमा केही नाजायज काम गर्‍यो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस्ता काम भविष्यमा दोहोरिनु हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू