अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

गजल

मन्दिरा मधुश्री २०७४ चैत १० गते ९:०३ मा प्रकाशित

मुटु भित्र अल्झेका याद चुडालेर लैजाऊ अब
नासो सबै फिर्ता दिएँ सम्हालेर लैजाऊ अब ।

जतन गरी राख्दा पनि कसर छ कि शङ्का भए
तलाउ छ आँखा भित्र पखालेर लैजाऊ अब ।

हामी थियौँ शून्यतामा धड्कन मात्रै तेज थियो
साक्षी बस्ने यही मुटु निकालेर लैजाऊ अब ।

पसारो छन् वाचा कसम यो छातीको मझेरिमा
झुक्किएर कुल्चिएला सङ्गालेर लैजाऊ अब ।।

रोप्यौँ मनको बगैँचामा दुवै मिली प्रीतिको फुल
सक्दिन म माली बन्न उखालेर लैजाऊ अब ।

प्रतिक्रिया