अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

सरस्वती ज्ञवालीको लालटिनको उज्यालोमा सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत १० गते ८:१४ मा प्रकाशित

काठमाडौँ, सरस्वती ज्ञवालीद्वारा आफ्नो आत्मकथामा आधारित रहेर लेखिएको ‘लालटिनको उज्यालोमा’ पुस्तक सार्वजनिक गरिएको छ । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोदा तिमिल्सिना, समालोचक प्राध्यापक डा.कृष्णचन्द्र शर्मा, नेकपा एमालेका सांसद बिन्दा पाण्डेले संयुक्त रूपमा सो पुस्तकको विमोचन गर्नुभयो । अक्षर क्रिएसन्स् नेपालद्वारा प्रकाशित सो पुस्तक २४४ पृष्ठ र ३२० रुपैयाँ मूल्यको छ । उक्त पुस्तकमा २८ वटा विभिन्न उपशीर्षक छन् र तिनमा फरक प्रसङ्ग, भोगाई र अनुभूति समेटिएको छ ।

घरमै बसेर अध्ययन गर्ने वातावरण समेत नपाएकी एउटी नारीले आफ्नो अध्ययनपछि शिक्षिका र राजनीतिकर्मीका रूपमा समाज परिवर्तनका लागि गरेको सङ्घर्षका कथाहरूलाई यस पुस्तकमा समेटिएको छ ।

शिक्षा र चेतनाको अभाव रहेका नेपालका पश्चिम पहाडी विकट गाउँहरूमा महिलाको अवस्था र उनीहरूले आफ्नो शिक्षा तथा आधारभूत अधिकार प्राप्तिका लागि गर्नुपरेका संघर्षपूर्ण कठिन परिस्थितिहरूलाई पुस्तकमा उल्लेख गरिएको छ ।

पाल्पाको मदनपोखरामा जन्मिएकी लेखिका ज्ञवालीले २०४० को दशक र त्यसपछिको पाल्पा, गुल्मीसहित त्यस क्षेत्रका नारीको अवस्था र आफैले त्यस समयमा भोग्नुपरेका जागिरे र राजनीतिकर्मीको जीवनका यथार्थ भोगाइहरूलाई सो पुस्तकमा आत्मकथाका रूपमा उतार्नुभएको छ ।

एक जना राजनीतिक कार्यकर्ताका रूपमा सरस्वतीले एकातिर बुहार्तन र अर्कातर्फ जागिरका साथै सङ्गठन निर्माणको कार्यका अनेक कठिन भोगाइहरूलाई सो पुस्तकमा उतार्नुभएको छ । त्यसमा उहाँले गुल्मी जिल्लामा महिला सङ्घको गठन र आफू अध्यक्ष भएर सङ्गठन हाँक्नुपर्दाका अप्ठेराहरुलाई पनि समेट्नुभएको छ ।

त्यस्तै उहाँले आफ्नो जीवनमा करिब एक दर्जन कार्यालयमा जागिर खाएको तर राजनीतिक पूर्वाग्रहका कारण कहिल्यै स्थायी हुन नसकेको यथार्थलाई पनि आत्मकथाका रूपमा पुस्तकमा लेख्नुभएको छ ।

लेखिका सरस्वतीले एउटी श्रीमतीका रूपमा आफ्ना राजनीतिकर्मी श्रीमान्को सफलता र प्रगतिका लागि आफ्नो जागिर र आकांक्षाहरुलाई पनि बिर्सिदिनेगरी निर्वाह गरेको भूमिकालाई पनि आत्मकथाका रूपमा वर्णन गरिएको छ ।

पुस्तकको शीर्षक ‘लालटिनको उज्यालोमा’ लेखिकाले आफ्नो शिक्षिकाको जागिरसँग जोडेर लालटिनकै भए पनि उज्यालोतर्फको यात्राको विम्बका रूपमा प्रस्तुत गर्नुभएको छ ।

तर पुस्तकको अन्तिमतिर भने उहाँले मस्तिष्क पक्षाघात भएकी हाल २८ वर्षीया आफ्नी छोरीको जीवनलाई पनि उज्यालोकै रूपमा व्याख्या गर्नुभएको छ । पुस्तकमा देखिन्छ— छोरी क्षितिज पक्षाघातको बिरामी भएर ह्वीलचियरको सहायताले बाँचेकी छिन् तर अहिले पनि उनी लेखिकाको एक्लोपनको साथी हुन् र उनको स्याहार सुसारमा लेखिका बडो भावनात्मक रूपमा खट्नुभएको छ ।

यसरी छोरी, बुहारी, पत्नी, आमाका साथै समाजका अनेक भूमिकासँग एउटी नारी कसरी कामगर्न सक्छे भन्ने बारेमा पुस्तकमा लेखिकाले बयान गर्नुभएको छ ।

त्यसै गरी एउटी महिलाले घर परिवारसँगै राजनीतिक कार्यकर्ताको उत्तरदायित्वको बहन गर्नेकार्य कसरी सम्भव हुनसक्छ भन्ने अनेक पाटोहरूको प्रस्तुति पनि यस पुस्तकमा निकै रोमाञ्चक रूपमा समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू