अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

प्रचण्डको निर्देशनपछि सातदोबाटो चापागाउँ सडकको काम अघि बढ्यो

बिआरटीनेपाल २०७४ चैत १० गते ०:३५ मा प्रकाशित

सातदोबाटोदेखि खुमलटारसम्मको झन्डै एक किलोमिटर सडकखण्ड बैशाख १५ गतेभित्र कालोपत्रे हुने भएको छ । ठेक्का सम्झौता भएको चार वर्ष बित्दासमेत सडकखण्डको काममा प्रगति नहुँदा स्थानीय जनताले सास्ती खेप्दै आएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काठमाडौंको लाजिम्पाटबाट ललितपुरको खुमलटार हाइटमा बसाई सरेपछि स्थानीयबासीको भावना बुझ्दै सडक तत्काल निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

ठेकेदारले भने बिभिन्न बहाना बनाएर आलटाल गर्दै आएकोमा उक्त क्षेत्रका स्थानीय व्यक्तिहरुले अध्यक्ष प्रचण्डलाई सडक तत्काल कालोपत्रे गर्न पहल गरिदिन अनुरोध गरेका थिए । अध्यक्ष प्रचण्डले सुनाकोठी, चापागाउँ लगायत ललितपुर जिल्लाका थुप्रै गाविस जोड्ने उक्त सडकखण्डको काम सम्झौता अनुरुप अघि नबढ्दा स्थानीय जनताले सास्ती खेप्नु परेको र धुलोका कारण स्वास्थ्य समस्या समेत देखिएको भन्दै तत्काल काम सम्पन्न गर्न मुख्य सचिव, यातायात सचिव र विभागका निर्देशकसँग छलफल गरेका थिए । सोही छलफलका आधारमा ठेकेदारले कालोपत्रे कार्य अघि बढाएको थियो ।

कालोपत्रे कार्य अघि बढाएपनि ढिला सुस्ती भएपछि प्रचण्ड सचिवालयको पहलमा स्थानीय प्रशासन, स्थानयबासी र ठेकेदारबीच चैत्र १५ गतेभित्र सुरुको खण्डको ५ सय मिटर कालोपत्रे गर्ने र बाँकी सडक खण्ड वैशाख १५ सम्म कालोपत्रे सम्पन्न गर्ने सहमति भएको छ । सुरुको पाँचसय मिटरपछि निकै ठूलो मात्रामा फोहोर फालिएको कारण तत्काल काम अघि बढ्न नसक्ने देखिएपछि प्रचण्ड सचिवालयले फोहोर व्यवस्थापनका लागि समेत महानगरपालिकासँग पहल शुरु गरेको छ ।

उक्त फोहोरको व्यवस्थापन भएपछि बाँकी खण्ड समेत कालोपत्रे गर्न शुरु गरिने र सबै काम वैशाख १५ भित्र गर्न ठेकेदार पक्ष सहमत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू