अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

स्वेच्छिक अवकाश सम्बन्धी निवेदन स्वीकृत हुँदैनः मन्त्री लालबाबु पण्डित

बिआरटीनेपाल २०७४ चैत ८ गते १२:३९ मा प्रकाशित

विराटनगर, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार कर्मचारीको सेवा र सुविधा वृद्धि गर्न तयार रहेको बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आज आयोजित जिल्लास्थित कार्यालय प्रमुखको भेलामा उहाँले भन्नुभयो – कर्मचारीले पहिले आफूलाई खटाएको स्थानमा जानुपर्छ, अनि मात्र सेवा र सुविधा वृद्धि गरिने छ ।”

मन्त्री पण्डितले कुनै पनि कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी निवेदन स्वीकृत नहुने उल्लेख गर्दै मन्त्री र सचिवकोमा धाउँदैमा समायोजन नरोकिने स्पष्ट पार्नुभयो ।

प्राविधिक कर्मचारी स्थलगत रुपमा कार्य नगरेकाले आज देशको यस्तो दुर्दशा भएको छ बताउँदै उहाँले कामको क्षेत्रसँग विषय नमिलेका कारण नै आफूले प्राविधिक कर्मचारीलाई प्रशासनमा जाने रोकेको जानकारी दिनुभयो ।

मन्त्री पण्डितले सरकारले निजामती कर्मचारीको तालीम, विदेश अध्ययन भ्रमणअनुसार राज्यलाई प्रतिफल दिनुपर्नेमा जोड दिँदै स्वेच्छिक अवकास अधिकार होइन, सुविधा मात्र हो भन्नुभयो । जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी सार्वजनिक सेवा प्रवाह गर्न निजामती कर्मचारीलाई आग्रह गर्दै उहाँले उच्च मनोबलका साथ आफ्नो पदीय जिम्मेवारी वहन गर्न कर्मचारीलाई निर्देशन पनि दिनुभयो ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले संघीयता कार्यान्वयनमा बाधा उत्पन्न नगराउन कर्मचारीलाई निर्देशन दिँदै स्थानीय तहलाई क्रियाशील गराउन सामान्य प्रशासन मन्त्रालयले गरेको निर्णयलाई सहयोग पुर्याउन आग्रह गर्नुभयो । 

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले कर्मचारीले समयमा कार्यालय जाने र तोकिएको पोशाक लगाउन निर्देशन दिँदै बिदाको दिन अनुमति बिना सवारी सञ्चालन गरेमा कारबाही गरिने बताउनुभयो । भेलामा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख, स्थानीय निकायका कर्मचारी, सशस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र सञ्चारकर्मीको सहभागितामा थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू