अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

२९ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी ९ चैत्र देखी काठमाडौँमा आयोजना हुँदै

बिआरटीनेपाल २०७४ चैत ३ गते ६:३७ मा प्रकाशित

काठमाडौँ, घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालयको आयोजनामा यही चैत्र ९ देखि १३ गते सम्म काठमाडौँको भृकुटीमण्डपमा २९ औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ ।

‘स्वदेशी वस्तु प्रयोग गरौँ, समृद्धि तर्फ अघि बढौँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रदर्शनीमा मुलुकभरका ७७ जिल्लाका लघु, घरेलु तथा साना उद्यमीको सहभागिता रहने घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीन कुमार झाले बताउनुभयो । प्रर्दशनिमा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादीत सामानहरू बिक्री तथा प्रर्दशनिका लागि राखिनुका साथै मुलुकभरका उद्यमीहरूको जमघट तथा अन्तरक्रिया हुने भएकाले पनि यस प्रर्दशनिको महत्त्व रहेको कार्यकारी निर्देशक झा बताउनुहुन्छ ।

पाँच दिनसम्म सञ्चालन हुने यस प्रर्दशनिमा ३ सय प्रदर्शनी कक्ष (स्टल) रहने छन् भने ५ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीको विशेष आकर्षणको रूपमा मौलिक नेपाली हस्तकला र काष्ठकला जन्य उत्पादनहरू, परम्परागत तथा आधुनिक उपर्युक्त प्रविधि, छाला जुत्ता तथा छालाजन्य वस्तुहरू, प्राकृतिक रेसाबाट उत्पादित कपडा र वस्तुहरू, बाँसका वस्तुहरू, फलफुलमा आधारित उत्पादनहरू, करुवा र खुकुरी, कृषि तथा वजन्य उत्पादनहरू लगायतका सामानहरू प्रर्दशनिमा रहने छन् । ७७ जिल्लाका उद्यमी सहभागी हुने र उद्यमीले तयार पारेका सामान लाई एउटै छाता मुनिबाट उपभोक्तालाई सहज रूपमा खरिद गर्न मिल्ने गरी स्टल तयार पार्न लागिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीन कुमार झाले बताउनुभयो ।

सोही प्रदर्शनीकै अवसरमा उद्यमीहरूलाई पूर्ण रूपमा जानकारी दिन बौद्धिक सम्पत्ति तथा उद्योग व्यवसाय प्रवर्द्धन बारे सम्बन्धित निकाय र उद्यमीहरू बिच अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना हुनेछन् । लघु घरेलु तथा साना उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार विस्तार तथा प्रवर्द्धन गर्ने अभिप्रायले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रर्दशनि आयोजना गर्न लागिएको यस प्रर्दशनिमा उद्यमीले उत्पादन गरेका सामानहरूलाई बजारीकरण गर्न सजिलो हुनुका साथै त्यस्ता सामानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत बजारीकरण गर्न कोसेढुङगा साबित हुने भएकाले समितिले २०४२ सालदेखि राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनि र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको घरेलु समितिले जनाएको छ ।

यस प्रर्दशनिले उद्यमी–उद्यमी बिचमा सिपको आदान प्रदानका साथै बजार विस्तार हुने भएकाले प्रर्दशनिको धेरै महत्त्व रहेको छ । प्रर्दशनिलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । स्वदेशमा स्थापित उद्योगहरूमा जडित प्रविधि, नेपालमा उत्पादीत वस्तु तथा सेवाहरू र नेपालमा विकसित प्रविधिको बारेमा जानकारी दिनुका साथै राम्रा काम गर्ने उद्यमीलाई विधागत रूपमा पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रत्येक जिल्लाबाट सो प्रदर्शनीमा दुई जना उद्यमी सहभागी हुने छन् । त्यसरी सहभागी भएका उद्यमीले दैनिक भत्ता तथा यातायातको सुविधा समेत प्राप्त गर्ने छन् । सरकारी स्तरबाट लघु, घरेलु तथा साना उद्यमीले उत्पादन गरेका सामानलाई बजारीकरण गर्ने उदेश्यका साथ आयोजना हुने एक मात्र राष्ट्रिय स्तरको यस प्रदर्शनी भएकाले यसको महत्त्व धेरै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू