अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

समृद्धिको मुद्दामा सार्क सदस्य मुलुकको एकीकृत सहकार्य हुनुपर्छ– प्रधानमन्त्री

बिआरटीनेपाल २०७४ चैत २ गते १८:४० मा प्रकाशित

काठमाडौँ,

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियामा उपलब्ध अपार साधन र स्रोतको परिचालन गरी समृद्धिको बाटोमा अगाडि बढ्न एकीकृत सहकार्य आवश्यक भएको बताउनुभएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) चेम्बर्स अफ कमर्स एण्ड इन्डिस्ट्रज र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आजदेखि यहाँ शुरु भएको ‘सार्क विजनेस लिडर्स कनक्लेभ’ उद्घाटन समारोहलाई सम्बोधन गर्ने उहाँले समृद्धि मुख्य मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

तीन दिनसम्म चल्ने सम्मेलन (कनक्लेभ)मा सहभागी आठवटै मुलुकका सहभागीले विचार विमर्श गरी विकास र सहकार्यमा सहयोग पुग्ने सुझाव दिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सुहाउँदो नीति ल्याएर समृद्धिको बाटोमा लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी निजी क्षेत्रलाई उत्प्रेरित गरेर अगाडि बढ्नेछौँ, अब सरकारी र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नेछ ।” प्रधानमन्त्री ओलीले राजनीतिक संक्रमण सकिएर आर्थिक संक्रमणको बाटोमा मुलुक अगाडि बढेको भन्दै आर्थिक विकास नै राज्यको मुख्य मुद्दा भएको चर्चा गर्नुभयो ।

शान्ति प्रक्रियामार्फत सबै द्वन्द्व निष्कर्षमा पुगेको भन्दै उहाँले आगामी दिनमा सार्क मित्रराष्ट्रसँग सहकार्य गरेर अगाडि बढ्ने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले स्थानीय, प्रान्तीय एवं केन्द्रीय सरकार गठन भई काम अघि बढेको भन्दै आर्थिक विकासको नयाँ अध्यायमा अगाडि बढेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको मन्तव्य उद्धृत गर्दै सचिव चन्द्रकुमार घिमिरेले दक्षिण एसियाली क्षेत्रमा रहेका गरिबीको न्यूनीकरणमा सार्क मुलुक एकीकृतरुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू