अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५४ | Colorodo: 15:09

रुसी गुप्तचर स्क्रिपल र उनकी छोरीमाथिको घातक विष आक्रमणको अमेरिका सहित ४ राष्ट्रद्वारा भत्र्सना

बिआरटीनेपाल २०७४ चैत २ गते २:५४ मा प्रकाशित

रुसी गुप्तचर ६६ वर्षीय सर्गेइ स्क्रिपल र उनकी छोरी युलिया माथिको घातक विष आक्रमणको अमेरिका सहितका राष्ट्रले कडा शब्दमा निन्दा र भत्र्सना गरेका छन् । अमेरिका, बेलायत, जर्मनी र फ्रान्सका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यसको निन्दा गरेका हुन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विष आक्रमणबारे बेलायतले जे ठहर गरेको छ, अमेरिकालाई पनि त्यही लागेको छ । पूर्वगुप्तचर र उनकी छोरीलाई विष खुवाउन लागिएको घटनामा रसिया दोषी छ भन्ने अमेरिकाको विश्वास हो ।’ अमेरिकाले बेलायतको समर्थन गर्ने बताउँदै रसियासँगको कूटनीतिक सम्बन्धमा पनि अमेरिका बेलायतसँगै रहेको वक्तव्यमा जनाइएको छ ।

यस्तो प्रकारका विष आक्रमण दोस्रो विश्वयुद्धपछि युरोपमा पहिलोपटक भएको भन्दै यसले बेलायतको सार्वभौमिकतामाथि समेत आक्रमण गरेको उनीहरूको आरोप छ ।रुसले यो आक्रमणमा आफ्नो कुनै संलग्नता अस्वीकार गर्दै दिएको प्रस्टीकरण केवल सस्तो लोकप्रियताका लागि मात्रै आएको समेत विज्ञप्ती मार्फत आरोप लगाएका छन् ।

बेलायतले यसै घटनालाई लिएर रुसका २३ जना कूटनीतिज्ञलाई निष्कासन गरेको छ । चारवटा देशले जारी गरेको संयुक्त विज्ञप्तिमा यो आक्रमण घृणित भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यो बेलायतको सम्प्रभुतामाथिको हमला हो । कुनै पनि राष्ट्रले यस्ता घातक रसायनको प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो ।’

बेलायतले रुसका निष्कासित कूटनीतिज्ञलाई देश छाड्न एक साताको समय दिएको छ । बेलायतले पूर्वरुसी गुप्तचर सर्गेइमाथि नर्भ एजेन्ट विष दिएर हत्या गर्ने कोसिस गरेको आरोप लगाएको छ । बेलायती प्रधानमन्त्री मेले निष्कासित रुसी कूटनीतिज्ञ अघोषित गुप्तचर भएको आरोपसमेत लगाएकी छन् ।

यस्तै, उनले रुसी विदेशमन्त्रीले विश्वकपका लागि पठाएको निमन्त्रणा समेत अस्वीकार गरेकी छन् । उनले यसै वर्ष रुसमा हुने विश्वकपमा बेलायती शाही परिवारले भाग नलिने बताएकी छन् । राष्ट्रसंघ सुरक्षा परिषद्मा बेलायती अधिकारी जोनाथन एलेनले रासायनिक हतियार प्रयोगमाथि प्रतिबन्ध लागेको विष प्रयोग गरेको आरोपमा अमेरिकी राजदूत निकी हेलीले समर्थन जनाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू