अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

सरकारलाई आजै पूर्णता दिने तयारी: क-कसको छ सम्भावना ?

बिआरटीनेपाल २०७४ चैत १ गते २०:१० मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व सम्हालेको ३० दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गरेका छन्।

आफ्नै पार्टी एमाले, माओवादी, संघीय फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन्। यसका लागि उनले बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेताहरूसँग अनौपचारिक छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले आफ्नै दलका शीर्ष नेतासँग बिहीबार छलफल गरे भने बालुवाटारमै माओवादी केन्द्र र संघीय फोरमलाई आन्तरिक पार्टी छलफल र अन्तरपार्टी छलफलको वातावरणसमेत मिलाइदिए। राष्ट्रपति चुनावपछि सरकारलाई पूर्णता दिने बताउँदै आएका प्रधानमन्त्रीले त्यसयताको तीन दिन माओवादी अध्यक्ष दाहालसँग लगातार छलफल गर्दै आइरहेका थिए।

सरकारमा संघीय फोरम पनि सहभागी हुने नै भएपछि एमाले–माओवादीले यसअगाडि भागबन्डा गरेको मन्त्रालय संख्यामा दुवैका एक–एकवटा घटाएर फोरमको व्यवस्थापन गर्ने तयारी भएको छ। त्यसो हुँदा एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई २ मन्त्रालय भाग आउनेछ।

त्यस्तै राजपा सरकारमा आए उसले पनि दुई मन्त्रालय पाउनेछ। ‘मन्त्रालयको संख्या र कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषयमा टुंगो भने लागिसकेको छैन,’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘यी विषय छलफलकै क्रममा छन्, अझै टुंगिएका छैनन्।’

माओवादीका तर्फबाट यसअघि नै गृहमा रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमा मातृका यादवले मन्त्रीको रूपमा सरकारमा काम गरिरहेका छन्। ६ मन्त्रालय पाउँदा उसले प्रदेश ७ बाट बिना मगर, प्रदेश २ बाट गिरिराजमणि पोखरेल, प्रदेश ५ बाट वर्षमान पुन र प्रदेश ६ बाट नेताद्वय जनार्दन शर्मा र शक्ति बस्नेतमध्ये एकलाई पठाउने तयारी गरेको छ।

एमालेबाट भने प्रदेश १ बाट भानुभक्त ढकाल, योगेश भट्टराई, वसन्त नेम्बाङ, २ बाट रघुवीर महासेठ, ३ बाट कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, प्रदेश ४ बाट रवीन्द्र अधिकारी, प्रदेश ५ बाट प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा, ७ बाट प्रेम आले र नारदमुनि रानाको नाम चर्चामा छ। एमालेले अब पाँच वटा मन्त्रालयमा मन्त्री पठाउनुपर्नेछ। आजको अन्नपूर्ण पोस्टमा खबर  छ ।

क–कसको सम्भावना ?
एमाले 
प्रदेश १ भानुभक्त ढकाल, योगेश भट्टराई, वसन्त नेम्बाङ
प्रदेश २ रघुवीर महासेठ
प्रदेश ३ कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा
प्रदेश ४ रवीन्द्र अधिकारी
प्रदेश ५ प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा
प्रदेश ७ प्रेम आले र नारदमुनि राना

माओवादी 
प्रदेश ७ बिना मगर
प्रदेश २ गिरिराजमणि पोखरेल
प्रदेश ५ वर्षमान पुन
प्रदेश ६ जर्नादन शर्मा र शक्ति बस्नेत

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू