अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

ललित अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

बिआरटीनेपाल २०७४ फागुन ३० गते १०:२५ मा प्रकाशित

ललितपुर,  ललितपुर उद्योग वाणिज्य सङ्घको ५० औँ स्थापना दिवस तथा स्वर्ण जयन्तीको अवसरमा पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा पाँच दिने ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७४ फागुन ३० गते सुरु भएको छ ।मेलाको एक समारोहकाबीच प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणी पौडेलले गर्नुभयो । सो अवसरमा मुख्य मन्त्री पौडेलले प्रदेश नं ३ मा आर्थिक विकास गर्न लगानी मैत्री वातारण, निर्यात बढाउने र औद्योगिक र भूउपयोग नीति कडाईसाथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्य मन्त्री पौडेलले १३ जिल्ला रहेको प्रदेश नं ३ लाई समृद्धि प्रदेशको रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । काठमाडौँ उपत्यका प्रदेश नं ३ को सांस्कृतिक वैभव र सम्पदाको धरोहरका रूपमा लिइएको पनि उहाँको भनाई रहेको छ ।

सो अवसरमा सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले ३ नं प्रदेशले समग्र राष्ट्रकै आर्थिक, सामाजिक समृद्धिको अगुवाई गर्नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘यसमा अनेकौँ चुनौतीहरू छन् । तर यहाँ सम्भावनाहरू पनि प्रशस्त रहेको छ । सरकार र निजी क्षेत्रको सह–कार्यमा आर्थिक, सामाजिक समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ ।’

अध्यक्ष महर्जनले भन्नुभयो ‘विकास, निर्माण कार्य सञ्चालन गर्न सरकारलाई बढी भन्दा बढी राजश्वको आवश्यकता पर्दछ । विद्यमान संरचनाबाट थप राजश्व जुटाउने तर्फ लाग्नु भन्दा बढी भन्दा बढी स्रोत परिचालन हुन सक्ने नयाँ नयाँ वृहत् परियोजनाको सञ्चालनमा क्रियाशील हुनुपर्दछ भन्ने हाम्रो दृष्टिकोण छ ।’

सीप तथा कौशलको विकास र संरक्षण गर्ने मात्र होइन कलाकारहरूले त्यसको उचित लाभ लिन सक्ने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले सीप हस्तान्तरण गर्ने वातावरणका लागि पनि सरकार एवं निजी क्षेत्रको संयुक्त पहलमा समग्र जिल्लालाई नै हस्तकला क्षेत्रका रूपमा घोषणा गर्नुपर्ने बताउँदै भन्नुभयो ‘हस्तकलाको प्रवर्द्धन गरी ललितपुर नमुना हस्तकला ग्राम निर्माणका लागि सरकारको ध्यानाकृष्ट गराउनुपर्दछ । हस्तकला ग्रामको सञ्चालनले यस ललितपुर जिल्लालाई पर्यटन प्रवर्द्धनका विस्तार हुनेछ भन्ने विश्वास लिएको छु । ’अध्यक्ष महर्जनले भन्नुभयो ‘पर्यटन प्रवर्द्धनको साथै निर्यातमा पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय उत्पादनहरूको लागि आधुनिक एवं व्यवस्थित किसिमको प्रदर्शनी हुनु जरुरी छ । सो केन्द्रलाई सरकार र निजी क्षेत्रको सह–कार्यको एउटा नमुनाको रूपमा निर्माण हुन सकोस् ।’

महासचिव मनोजबहादुर न्याछ्योंले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । मेलामा पाकिस्तान, बङ्गलादेश र भारतका २२ र स्वदेशी ५८ गरी ८० वटा स्टलहरु रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू