अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०८ | Colorodo: 11:23

विमान दुर्घटननाबारे गृहमन्त्री थापा र बङ्गलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्रीबिच वार्ता

बिआरटीनेपाल २०७४ फागुन ३० गते १०:०१ मा प्रकाशित

काठमाडौँ, बङ्गलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एके एम शाजहान कमलले गृहमन्त्री रामबहादुर थापासँग आज भेट वार्ता गर्नुभएको छ ।

गृहमन्त्रालयमा भएको वार्तामा मन्त्री थापाले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बङ्गला एअरलाइन्सको विमान दुर्घटना र त्यसमा परी भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसका लागि एक समिति गठन गरिएको जानकारी गराउनुभयो ।

उहाँले दुर्घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र आफू लगायतका सरकारका उच्च अधिकारी दुर्घटनास्थलमा पुगेर राहत तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिनका साथै स्रोत र साधनले भ्याएसम्म उद्धारमा कुनै कमी नगरिएको बङ्गलादेशका मन्त्री कमललाई जानकारी गराउनुभयो ।

वार्तामा मन्त्री थापाले दुर्घटनामा निधन भएका बंगलादेशी नागरिकको शवको पहिचान तथा शव परीक्षणको प्रक्रिया जारी रहेको र त्यो सकिने बित्तिकै द्रुत गतिमा शव बङ्गलादेश लैजानका लागि व्यवस्था मिलाइने बताउनुभयो ।

बङ्गलादेशका मन्त्री कमलले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटना लगत्तै नेपाली पक्षले राहत तथा उद्धारमा देखाएको तत्परताप्रति धन्यवाद व्यक्त गर्नुका साथै आफूहरूले उद्धारमा कुनै किसिमको कमी भएको महसुस नगरेको स्पष्ट पार्नुभयो ।

आफूले विमान दुर्घटनामा परी घाइते भएर उपचार गराइरहेका १० बंगलादेशी नागरिकलाई काठमाडौँ मेडिकल कलेज, नर्भिक अस्पताल र ओम अस्पतालमा पुगेर अवस्थाबारे जानकारी लिएको र उपचारमा प्रति आफूहरू सन्तुष्ट रहेको मन्त्री कमलले बताउनुभयो ।

उहाँले ओम अस्पतालमा उपचारत डा रिजवानलाई थप उपचारका लागि उहाँका परिवारले सिंगापुर लैजान खोजेको र दुर्घटनामा परेका अन्य घाइतेलाई उपचारमा सहयोगका लागि बङ्गलादेशका हाडजोर्नी सम्बन्धी चिकित्सक र ‘बार्न’ सम्बन्धी चिकित्सकलाई नेपालमा पठाउन चाहेको भन्दै त्यसका लागि वातावरण सहज बनाउन गृहमन्त्री थापासँग आग्रह गर्नुभएको थियो ।

जवाफमा मन्त्री थापाले त्यस विषयमा नेपालस्थित बङ्गलादेशको दूतावासबाट प्रक्रिया पु¥याएर आग्रह गरिए सहजीकरण गर्न नेपाल सरकार तयार रहेको बताउनुभयो ।

वार्तामा दुवै मन्त्रीबिच आगामी दिनमा यस्तो दुर्घटना हुन नदिन र घटनाको छानबिन गर्न सहजीकरण गर्ने सहमति भएको छ । दुर्घटनामा परी ४९ जनाको निधन भएकामा २२ यात्रु र चार चालक दलका सदस्य गरी २६ बंगलादेशी नागरिक, २२ नेपाली र एक चिनियाँ नागरिकको निधन भएको थियो । तस्वीर: किरण भट्टराई

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू