अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३१ | Colorodo: 12:46

प्रसिद्ध भौतिकशास्त्री तथा बैज्ञानिक स्टेफन हकिङको निधन

बिआरटीनेपाल २०७४ फागुन ३० गते २:०३ मा प्रकाशित

ब्रिटिश वैज्ञानिक प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङको निधन भएको छ । ७६ बर्षिय स्टेफनको बुधबार निधन भएको उहाँका तीन छोराछोरीले विज्ञप्ति प्रकाशन गरेर जानकारी गराएका हुन् ।

स्टेफन एकजना सुप्रसिद्ध भौतिशास्त्री हुनुहुन्थ्यो । हकिङले सन् १९८८ मा लेख्नुभएको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ संसारमा नै धेरै बिक्रि हुने पुस्तकमा परेको थियो ।

भौतिकशास्त्र सम्बन्धमा ठूलो ज्ञान भएका उहाँले यस क्षेत्रको ‘ब्ल्याक होल’ र सापेक्षताबारेमा कैयौँ शोधहरु गर्नुभएको थियो ।

उहाँले भौतिक विज्ञानसम्बन्धी कैयौँ विश्वप्रसिद्ध पुस्तक लेख्नुभएको छ । उहाँका तीन छोराछोरीले बुधबार विज्ञप्ति प्रकाशन गरेर उहाँको निधनको जानकारी गराएका छन् ।

उहाँका तीनजना छोराछोरी लुसी, रबर्ट र टिमले उक्त विज्ञप्तिमा भन्नुभएको छ ‘हाम्रा प्यारा बुवाको आज निधन भएकाले हामी अत्यन्तै दुःखी छौँ’ ।

सो विज्ञप्तिमा उहाँहरुले उहाँ महान् वैज्ञानिक र असाधारण व्यक्ति हुनुहुन्थ्यो भन्नुभएको छ । उहाँका कृतिहरु, काम र योगदान आगामी धेरै समयसम्म पनि जिउँदो रहने छ उहाँहरुले भन्नुभएको छ ।

उक्त विज्ञप्तिमा उहाँहरूले आफ्ना पिताको ‘साहस र दृढता’ को निकै प्रशंसा गर्दै उहाँको प्रतिभाले संसारका मानिसहरूलाई नै उत्प्रेरित गर्ने विश्वास पनि उहाँहरुले व्यक्त गर्नुभएको छ ।

उहाँलाई २१ वर्षको उमेरमा नै शरीरका अंगहरु नचल्ने एक दुर्लभ प्रकृतिको रोग लागेको थियो । त्यसपछि चिकित्सकहरुले उहाँलाई केही वर्षमात्र बाँच्ने घोषणा गरेका थिए ।

त्यसको केही वर्षपछि उहाँ शारीरिक रुपमा अशक्त हुनुभयो र ह्वीलचियरको सहायतामा रहनुभएको थियो । उहाँ पछिल्लो समयमा पक्षाघात भएर घरैमा रहनुभएको थियो ।

शारीरिक रुपमा उहाँ केही गर्न सक्ने अवस्था हुनुहुन्थ्यो । उहाँ ह्वीलचियरको सहायताले मात्र यताउती गर्नसक्ने अवस्थामा रहनुभएको थियो ।

विश्वविद्यालयका प्राध्यापक समेत रहनुभएका उहाँका पुस्तकहरु भौतिक विज्ञान विषयका लागि विश्वमा नै लोकप्रिय छन् ।

उहाँ शारीरिक रुपमा अशक्त मानिसले पनि अनुसन्धान, अध्ययन एवम् अरु प्राज्ञिक क्षेत्रमा कतिसम्म गर्नसक्छ भन्ने विषयमा विश्वमा नै एक उदाहरण बन्नुभएको थियो ।

सन् १९४२ को जनवरी ८ मा जन्मिनुभएका उहाँलाई विश्वका सुप्रसिद्ध वैज्ञानिकहरु अल्बर्ट आइन्स्टाइन र सर आयज्याक न्युटनपछिका वैज्ञानिकका रुपमा तुलाना गर्ने गरिन्थ्यो ।

उहाँलाई यी प्रसिद्ध वैज्ञानिकसँग तुलना गरेर हेर्ने गरिएकोले पनि उहाँ विश्वप्रसिद्ध हुनुभएको थियो ।

उहाँलाई सन् १९७९ मा क्याम्ब्रिज विश्वविद्यालयको गणितको प्राध्यापकका रुपमा नियुक्त गरिएको थियो । पछि उहाँ स्वअध्ययनका लागि अक्सफोर्ड विश्वविद्यालयमा जानुभएको थियो ।

उहाँका विज्ञान, भौतिक विज्ञान तथा गणितका पनि निकै लोकप्रिय पुस्तक र खोजहरु रहेका छन् । उहाँको निधनले देशलाई ठूलो क्षति पुगेको यहाँका प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू