अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४८ | Colorodo: 04:03

विमान दुर्घटनामा परी निधन भएकाको स्मरणमा माइतीघरमा दीप प्रज्वलन

बिआरटीनेपाल २०७४ फागुन २९ गते ९:२९ मा प्रकाशित

काठमाडौँ, युएस बङ्गला विमान दुर्घटनामा परी निधन भएकाको स्मरणमा आज साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । सक्षम फाउण्डेशन नेपालले आयोजना गरेको उक्त कार्यक्रममा सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । सोही दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।

उक्त फाउण्डेशनमा चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी संलग्न छन् । उनीहरूले विभिन्न समयमा दैवी प्रकोप, मानवीय विपत्, दुर्घटनामा सर्वसाधारणलाई उद्धारपछिको स्वास्थ्य उपचार, औषधि वितरण, मनोवैज्ञानिक परामर्शलगायत सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

उक्त फाउण्डेशनका अध्यक्ष डा सिके सिंहले उक्त दुर्घटनामा परी ठुलो सङ्ख्यामा चिकित्सकको अध्ययन पूरा गरेका विद्यार्थीको मृत्यु भएकामा चिन्ता व्यक्त गर्दै त्यसबाट भएको मानवीय क्षतिले मुलुकको अपूरणीय नोेक्सान भएको बताउनुभयो । उहाँले घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा हिजो भएको सो विमान दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो भने सो दुर्घटनामा परी घाइते भएका तथा २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसैबिच नेपाल ल क्याम्पसका विद्यार्थीले पनि त्यहाँ मैनबत्ती बालेर शोक मनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू