अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१९ | Colorodo: 08:34

बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौँमा

बिआरटीनेपाल २०७४ फागुन २९ गते ९:०८ मा प्रकाशित

काठमाडौँ, सोमबार दुर्घटनामा परेको यूएस बङ्गला विमानको अवस्थाका बारेमा जानकारी लिन बङ्गलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज यहाँ आइपुगेको छ । बङ्गलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बङ्गलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो ।

उच्चस्तरीय सरकारी टोली यूएस बङ्गला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

बङ्गलादेशको उच्चस्तरीय टोली केहीबेरअघि काठमाडौँ आइपुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन् । यसअघि सोमबार विमान दुर्घटनापछि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू